टोपबहादुर र रविपछि मोहनको पालो

टोपबहादुर र रविपछि मोहनको पालो

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बनमा परेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा ३ अर्ब २१ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै बस्नेतको पद निलम्बित भएको हो । अदालतबाट मुद्दा किनारा नलाग्दासम्म अब उनले सांसदका रुपमा काम गर्न पाउने छैनन् । 

भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता हुनासाथ सांसदको पद निलम्बन हुने कानुनी  व्यवस्था छ । प्रतिनिधिसभा नियमावली २०७९, नियम २४८ को उपनियम ३ र ४ मा सो सम्बन्धमा थप व्याख्या गरिएको छ । 

मुद्दाको अन्तिम किनारा नलागेसम्म बस्नेत संसदमा फर्कन पाउँदैनन् । अन्तिम फैसला हुँदा सफाई पाए पद कायम रहन्छ भने दोषी ठहर भए निर्वाचित भएको क्षेत्र खालि हुन्छ । 

बस्नेत सिन्धुपाल्चोक-२ का प्रत्यक्ष निर्वाचित सांसद हुन् । कांग्रेसमा सभापति शेरबहादुर देउवा निकट मानिने उनी यसअघि प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए । पटक-पटक मन्त्री भएका उनी टेरामेक्स घोटालामा मुछिएको भने देउवाको पालामा सञ्चारमन्त्री भएका बेला हो । 

यो सँगै प्रतिनिधिसभामा निलम्बित सांसदको संख्या ३ पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा भूतपूर्व गृहमन्त्री रवि लामिछाने र एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पहिलेबाटै निलम्बनमा छन् । 

सहकारी ठगी प्रकरणमा सम्पत्ति शुद्धिकरणको समेत कसूर लागेसँगै निलम्बनमा परेका लामिछाने अहिले थुनामा छन् । बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना अभियोगमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशले थुनामा पुगेका उनी भैरहवाला कारागारमा कैद भुक्तान गरिरहेका छन् । 

लामिछाने चितवन-३ बाट दोहोर्याएर सांसद जितेका व्यक्ति हुन् । २०७९ को चुनावमा सर्वाधिक भोट ल्याएर जितेका उनले नागरिकता किर्तेमा दोषी ठहरिएसंगै पद गुमाएका थिए । त्यसपछि २०८० वैशाखमा भएको उपचुनावमा झन् बढी भोट ल्याएर विजयी भएका लामिछाने करिब २ वर्षपछि पुन: निलम्बित भएका हुन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझी २०८० असारदेखि निलम्बनमा छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ कुम्ल्याउने गिरोहमा संलग्न रहेको अभियोगमा अदालतको आदेशले केन्द्रीय कारागारमा कैद सजाय काटिरहेका उनी एमालेको टिकटमा अर्घाखाँचीबाट प्रत्यक्ष निर्वाचित भएका थिए । 

एमालेकै अर्का सांसद लक्ष्मी महतो कोइरीको निलम्बन भने फुकुवा भैसकेको छ । व्यक्ति हत्याको अभियोगमा अदालतमा मुद्दा विचाराधीन रहेकै बेला चुनाव जितेका उनी लामो समय भाग्दै हिँडेका थिए ।

टिप्पणीहरू