ओली र पुटिनलाई रुसी र नेपाली निम्तो
प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासङ्घअन्तर्गत काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास, बालुुवाटारमा भएको भेटमा नेपाल र रुसबीचको मित्रवत सम्बन्धका विविध आयामबारे छलफल भएको बताइएको छ ।
प्रमुख कासिकोभले आगामी सेप्टेम्बरमा काल्मिकियामा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिनुुभएको छ भने प्रधानमन्त्री ओलीले पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणाको सन्देश सुनाइदिन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले नेपाल र रुसबीच कुनै सैन्य सम्झौता नभएको अवस्थामा रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति पुटिनलाई आफ्नो सन्देश सुनाइदिन पनि आग्रह गर्नुभयो । जवाफमा प्रमुख कासिकोभले आगामी दिनमा नेपालीलाई रुसी सेनामा भर्ना नगर्ने विश्वास दिलाउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सो अवसरमा नेपालका लागि रुसी राजदूत एलेक्सी नोभिकोभ र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीहरु उपस्थित थिए ।
टिप्पणीहरू