सदनमा खोजी भैरहँदा कहाँ छन् गगन-विश्व ?

सदनमा खोजी भैरहँदा कहाँ छन् गगन-विश्व ?
सुन्नुहोस्

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा समसामायिक राजनीतिक विषयमा खरो टिप्पणी गर्ने सांसदमध्येमा पर्छन् । पार्टीका आन्तरिक गतिविधिमा मात्र होइन संसदीय भूमिकामा समेत यी दुई प्रखररुपमा प्रस्तुत हुने गरेको पाइन्छ । तर, यसपटक सदनमा नीति तथा कार्यक्रम र प्रि-बजेट छलफल चलिरहँदा गगन र विश्व उपस्थित भएका छैनन् । 

वैशाख १२ गतेदेखि शुरु भएको संसद्को वर्षे अधिवेशन आज २१ औँ दिनमा छ । यसबीच राष्ट्रपतिले संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेदेखि त्यसउपर छलफल हुँदै पारितसमेत भैसकेको छ । तर, सत्तारुढ दलका शक्तिशाली महामन्त्रीहरुको संसदमा खासै सक्रियता देखिएको छैन । 

संसद शुरु भएपछि केही समय उपत्यका बाहिर गएका गगन मूलत: काठमाडौँमै छन् । आज उनले पर्दशनीमार्गस्थित नेपाल पर्यटन बोर्डमा पुगेर गोरखा भूकम्पको १०औँ स्मृतिमा आयोजित फोटो प्रदर्शनीको अवलोकन गरे । कार्यकर्ता भेटघाट र सामान्य कार्यक्रममा आफूलाई व्यस्त बनाइरहेका उनी संसद बैठकमा उपस्थित हुन नसक्ने ठूलो कारण देखिन्न, तर पनि उनी गइरहेका छैनन् ।

पूर्वमन्त्रीसमेत रहेका थापाले वैशाख पहिलो साता एक सार्वजनिक कार्यक्रमबाट प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाले पहुँच बनाएको टिप्पणी गरेका थिए । गठबन्धन सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको सदस्यसमेत रहेका उनले सरकारको आलोचना गरेको विषय काँग्रेस पदाधिकारी बैठकमासमेत उठेको थियो । 

सभापति शेरबहादुर देउवाले ‘बाहिर धेरै नबोल्न’ भनेको र अनुशासन समिति संयोजक दिलेन्द्रप्रसाद बडुले पनि सचेत गराएको पार्टीका नेताहरुले बताएका छन् । त्यतिबेला बैठकमा अन्य नेताहरुले ‘हामी बोल्दा स्पष्टीरकण सोध्ने, महामन्त्रीज्यूलाई छुट हो ?’ भनेर प्रश्न गरेका थिए । 

गगन संसद बैठकमा नजानुलाई काँग्रेसका एकथरी नेताले नीति तथा कार्यक्रमप्रतिको असन्तुष्टिको रुपमा अर्थ्याएका छन् । ‘त्यहाँ (संसद) गएपछि मनमा लागेका कुरा बोल्न परिहाल्यो, बोलेपछि फेरि प्रश्न आइहाल्छ, त्यो भन्दा बरु नगएकै राम्रो भनेर उहाँ आफ्नै पारामा हुनुहुन्छ जस्तो लाग्छ’, प्रतिनिधिसभा सदस्यसमेत रहेका एक नेताले सुनाए । 

अर्का महामन्त्री शर्मा भने यतिबेला सगरमाथा वेस क्याम्पको यात्रामा छन् । उनले सामाजिक सञ्जालमार्फत् यात्रा अनुभव, तस्वीर र भिडियो शेयर गरिरहेको देखिन्छ । 

संसदमा मुलुकको बजेट र नीतिसम्बन्धी महत्वपूर्ण छलफल चलिरहेकै समयमा शर्माले किन ट्रेकिङ रोजेका होलान् ? भन्ने प्रश्नमा ती काँग्रेस नेताको जवाफ छ, ‘उस्तै हो कुरा ! सरकारले ल्याएको नीति तथा कार्यक्रम गतिलो भएन भन्ने उहाँको आशय थियो । विरोधमा बोल्दा फेरि आफ्नै सरकारको आलोचना गर्यो भन्ने हुन्छ, त्यहि भएर संसद छल्न ट्रेकिङ जानुभएको हो !’ 

कतिसम्म भने काँग्रेस महामन्त्रीद्वयको सदनमा अनुपस्थितिलाई लिएर प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सांसदहरुले चासोसमेत देखाएका छन् । अस्ति मंगलबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले नीति तथा कार्यक्रममाथिको छलफलमा गगन र विश्वलाई नदेखेको भन्दै कटाक्ष गरेका थिए ।

‘नेपाली कांग्रेसमा दुई जना शसक्त युवा नेता हुनुहुन्छ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा । उहाँहरू नीति तथा कार्यक्रम छलफलमा कहीँ पनि देखिनुभएन,’ शाहीले भने, ‘यो संसदको सबैभन्दा ठूलो दल हो कांग्रेस । सरकारमा सहभागी पनि छ । सायद उहाँहरूलाई यस्तो लागेजस्तो लाग्यो- खाऊँ भने कान्छा बाबुको अनुहार, नखाऊ भने दिनभरिको शिकार ।’

त्यस्तै, सरकारको नेतृत्वकर्ता नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले पनि प्रि-बजेटमाथि छलफल चलिरहँदा गगन र विश्वलाई नदेख्दा आश्चार्य लागेको बताए । ‘नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथमिकताको छलफलमा सत्तारुढ दलकै केही वाकपटु र भेट्रान नेताज्यूहरुलाई सक्रिय देखिरहेको छैन, मलाई आश्चर्य लागेको छ’, उनले आजको बैठकमा भने ।

टिप्पणीहरू