देउवालाई बेलैमा कुर्सी बुझाउने प्रधानमन्त्रीको बाचा

देउवालाई बेलैमा कुर्सी बुझाउने प्रधानमन्त्रीको बाचा

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको सहयोगमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आलोपालो सहमति परिपालनामा इमान्दार बन्ने प्रतिवद्धता दोहोर्याउनुभएको छ । 

सरकारको निरन्तरतामाथि प्रश्न उठ्दा 'शेरबहादुर देउवालाई समयमै सत्ता हस्तान्तरण गर्छु' भन्ने गर्नुभएका उहाँले आज पनि त्यहि कुरा गर्नुभएको हो । एउटा सार्वजनिक कार्यक्रममा प्रम ओलीले १४ महिनापछि देउवालाई छैठौँ पटक प्रधानमन्त्री जुर्ने दाबी गर्नुभयो । 

‘अब शेरबहादुरजी पाँचपटक प्रधानमन्त्री हुनुभयो । मौका उहाँलाई जुर्छ । मैले १४ महिनापछि शेरबहादुरजीलाई  प्रधानमन्त्री भनेर किस्तीमा राखेर बकाइदा धुमधामसँग हस्तान्तरण गर्छु’, उहाँले भन्नुभयो ।  

गत वर्ष असार १७ गते नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्यका लागि भएको सात बुँदे सहमतिमा ओली र देउवा आलोपालो प्रधानमन्त्री हुने कुरा उल्लेख छ । तर, उक्त सम्झौता पालनमा दुवैतर्फबाट शंका व्यक्त हुने गरेको छ । खासगरी ओलीप्रति कांग्रेस नेताहरु ढुक्क हुन नसकेको देखिन्छ । 

यो स्थितिमा देउवालाई खुसी बनाएर सरकार जोगाउनुपर्ने बाध्यतामा रहेका प्रधानमन्त्री ओलीले आफ्ना प्राय: सबैजसो भाषणमा उक्त आलोपालो सहमति पूर्णत: कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउँदै आउनुभएको छ ।

टिप्पणीहरू