तस्करीमा व्यस्त, विश्लेषणमा खुलस्त
मोफसलका जिल्लामा प्रहरी प्रशासनको नेतृत्व फेरिएपछि अनेक किस्सा र कथा सुनिन्छ । विशेषगरी तराइका जिल्लामा त्यो पनि तस्करी बढी हुनेमा त्यस्तो कथा धेरै हुने गरेको छ । रुपन्देहीमा हालै भएको जिल्ला प्रहरी प्रमुखको सरुवापछि एकथरीले पुरानाको र अर्काथरीले नयाँको भजन गाएका छन् भने सँगसँगै ती दुबैको चर्को आलोचना पनि गरेका छन् ।
सीमा क्षेत्रमा सक्रिय हुने तस्कर समूहले प्रहरी संगठन र विशेषगरी जिल्ला प्रहरी प्रमुखको भजन वा आलोचना गर्छन् । करिब डेढ वर्ष रुपन्देही प्रहरीको प्रमुखको भूमिकामा रहेका एसपी रञ्जितसिंह राठौरको प्रस्थान र नयाँ प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीको आगमनमा आफ्नै किसिमको विश्लेषण गरिएको छ । राठौर ठीक भन्नेले अहिलेका क्षेत्रीलाई खत्तमको विशेषण भिराइदिएका छन्, क्षेत्री साह्रै राम्रा भन्नेले राठौरलाई उत्तम भनेका हुन् । उनीहरुको त्यस्तो विश्लेषण सीमा क्षेत्रमा हुने ओसारपसारसँग सम्बन्धित रहेको सहजै अनुमान गर्न सकिन्छ ।
क्षेत्रीको गुणगान गाउनेले पछिल्लो समय मर्चवार, धकधई क्षेत्रमा तस्करी ठप्प भएको दाबी गरेका छन् । उनीहरुले नै पहिले राठौरले फुक्काफाल छाडिदिएको दाबी गरेका हुन् । सीमा क्षेत्रमा रिर्पोटिंगमा गएका पत्रकार राधेश्याम विश्वकर्मालाई तस्करहरुले प्रहरीकै अगाडि दुव्र्यवहार गरेपछि तत्कालीन प्रहरी प्रमुखको चर्को आलोचना भएको हो ।
उनीहरुले नियन्त्रणमा लिएका तस्करलाई मझगाव इलाका प्रहरी कार्यालयले भगाएको आरोप छ । पत्रकार महासंघको केन्द्रीय नेतृत्वको उपस्थितिमा जिल्ला प्रशासन कार्यलय रुपन्देहीमै पुगेर प्रमुख जिल्ला अधिकारीलाई पत्रकारलाई दुव्यर्वहार गर्ने र क्यामेराको फुटेज डिलेट गराउनेलाई पक्राउ र कारबाहीको अल्टीमेटम दिइएको थियो । त्यसपछि पत्रकार विश्वकर्मालाई दुव्यर्वहार गर्ने दिपेश यादव सहित तीन जनालाई पक्राउ गरियो । तर यादवसहित तीनै जना धरौटीमा छुटेका छन् ।
यसअघिको १४ महिना रुपन्देही प्रहरीमा चेन अफ कमान्डले काम नगरेको भन्नेहरुको दाबी यस्तो छ, ‘प्रहरी कर्मचारीहरुबीच एकले अर्कालाई सिध्याउने खेल भयो । दुईजना डिएसपी नवीन पौडेल र लक्ष्मी खनालको झगडा मिलाउन नेतृत्वले चासो दिएन । क्षेत्रीयतालाई बढवा दिँदै सुदूरपश्चिमका कनिष्ठ अधिकृतहरुलाई चौकीको इन्चार्ज बनाइयो । सोही कारण अहिले चुनौतीको पर्खाल ठडिएको छ ।’
जिल्ला प्रहरी संगठनभित्र बिग्रेको चेन अफ कमान्डलाई लयमा फर्काउनु, तस्करीलाई निस्तेज तुल्याउनु र शक्तिको भरमा विभिन्न दर्जाका प्रहरी कर्मचारीहरुको तस्कर र दलालसँग कायम रहेको वर्षौंको साठगाँठ तोड्न अहिलेको जिल्ला नेतृत्वलाई महाभारत रहेको बताइन्छ । एसपी क्षेत्री दशकअघि रुपन्देहीमा इन्सपेक्टरको रुपमा कार्यरत थिए ।
त्यतिबेला तिनाउ नदीको दोहन रोक्ने, तेलको अवैध भण्डारण पत्ता लगाउने भन्दै उनी खटिएका थिए । तत्कालीन एसपी विक्रम सिंह थापा त्यतिबेलाका जिल्ला कमाण्डर थिए । माथिल्लो तहको आदेशलाई लत्याउँदै अवैध नदीजन्य उत्खनन रोकेको जस उनलाई धेरैले दिएका थिए ।
यसैगरी नेपाल आयल निगमको ट्याङक्रबाट पेट्रोल, डिजल चोरेर जमिनमुनि लुकाई राखेको तथ्यपनि त्यतिबेला पत्ता लागेको थियो । लागुऔषध नियन्त्रणमा विशेष टिम परिचालन गरिएको, सामाजिक विकृति रोक्न विशेष अभियान चलाइएको, बजार अनुगमनलाई कडासँग कार्यान्वयन गरिएको थियो ।
प्रहरी कार्यालयमा दलाल निषेध लेखिएको बोर्ड त्यतिबेला झुण्डाइएको थियो । तर, कतिपयले बोर्ड झुण्डाए पनि काम ठीक उल्टो भन्दै थापाको चर्को आलोचना गरेका थिए । तर, समग्रमा उनले चालेका कतिपय अभियानलाई त्यसपछि निरन्तरता नदिँदा तस्कर र अवैध कार्यमा संलग्नहरु सलबलाउनु कुनै अचम्म भएन । थापा सरुवा भएर जिल्लाबाट जाँदा धेरैले राम्रो मान्छे भनेकाले पनि त्यो बेलामा रुपन्देही जिल्ला प्रहरी टिमले स्थानीयको मन जित्न कोशिस गरेको भन्ने अर्थ लगाउन सकिन्छ ।
यतिखेर जिल्लाका सीमा क्षेत्रमा हुने चोरी तस्करी, क्यासिनोमा नेपालीहरुको प्रवेश र अवैध क्रियाकलाप, नदीजन्य पदार्थको अवैध उत्खनन् मुख्य चुनौति देखिन्छन् । यी चुनौतीमा पार्ने विशेषगरी उच्च राजनीतिक व्यक्तिको पहुँच, पैसाको रवाफ, सत्ता र शक्तिको प्रभावले प्रहरीको क्षमता र प्रभावकारिताको मूल्यांकन हुने गर्दछ ।
टिप्पणीहरू