माओवादी नेताद्वारा सामुदायिक पोखरी कब्जा

माओवादी नेताद्वारा सामुदायिक पोखरी कब्जा

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ स्थित बडेरा सामुदायिक वन क्षेत्रमा रहेको पोखरी एक स्थानीय नेताले कब्जा गरेको आरोप छ । औपचारिक सम्झौता र सार्वजनिक टेण्डरबेगर नेकपा माओवादी केन्द्रका स्थानीय नेता हरि भण्डारीले डेढ दशकदेखि पोखरीमा एकल हस्तक्षेप गरेको बुझिएको हो । 

स्थानीयबासीका अनुसार उनले व्यवसायिक प्रयोजनका लागि पोखरी प्रयोग गर्दै आएका छन् । भन्छन्,‘माओवादीमा आबद्ध भण्डारीले द्वन्द्वकालदेखि नै शक्तिको आडमा सामुदायिक वनको पोखरीलाई निजी फाइदामा प्रयोग गरिरहेका छन् ।’ उक्त सामुदायिक पोखरी सबैको साझा सम्पत्ति भएकाले सबैले त्यसको प्रयोग गर्न पाउनुपर्ने स्थानीयको भनाइ छ । भण्डारीले गरेको कार्य सामुदायिक वन ऐनविपरीत भएको उनीहरुको ठहर छ ।

‘उपसमिति बनाएर समस्या समाधानका लागि छलफल गरिएको थियो तर टुंगो लाग्न सकेको छैन । हेरौं के हुन्छ !’

नाम नखुलाउने शर्तमा एक स्थानीयले भने,‘यो पोखरी सामुदायिक सम्पत्ति हो, सबैले सराबरी प्रयोग गर्न पाउनुपर्छ । तर, अहिलेसम्म कुनै सूचना,बैठक वा सार्वजनिक निर्णयबिना निजी लाभका लागि प्रयोग भइरहेको छ । यो हर्कतले सामुदायिक वन ऐनको उल्लङ्घन भएको छ ।’

नगरपालिकाको सामुदायिक वन ऐनको परिच्छेद २ को दफा ३ मा परम्परागत रुपमा संरक्षण र उपयोग हुँदै आएको राष्ट्रिय वनको कुनै भागलाई सामुदायिक वनको रुपमा स्थानीय समुदायलाई हस्तान्तरण गर्न सकिने उल्लेख छ । तर, स्थानीयको मञ्जुरीबिना अन्य कुनै व्यक्ति, कम्पनी वा समुदायलाई दिन नमिल्ने स्पष्ट व्यवस्था ऐनले गरेको छ । 

डिभिजन वन कार्यालय,सुनवलले सामुदायिक वन उपभोक्ता समितिलाई पत्र पठाएपछि मात्रै पोखरी स्थानीय नेताको कब्जामा रहेको रहस्योद्घाटन भएको हो । त्यसपछि डिभिजनले सो विषयमा छलफल अगाडि बढाएको छ । त्यहाँका एक अधिकारीले भने,‘उपसमिति बनाएर समस्या समाधानका लागि छलफल गरिएको थियो तर टुंगो लाग्न सकेको छैन । हेरौं के हुन्छ !’

टिप्पणीहरू