देउवासँग फोनसंवाद भएको जानकारी दिदैँ प्रचण्ड- ‘केपीले धोका दिए’

देउवासँग फोनसंवाद भएको जानकारी दिदैँ प्रचण्ड- ‘केपीले धोका दिए’

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग फोनवार्ता गर्नुभएको छ । देउवाको गृह जिल्ला समेत रहेको डडेल्धुरा पुग्नुभएका प्रचण्डले प्रेस सेन्टर जिल्ला शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा फोन संवादबारे जानकारी दिनुभएको हो । 

फोनमा आफूले ‘तपाईंको जिल्ला आइपुगेको छु’ भनेर जानकारी गराएको प्रचण्डको भनाई छ । ‘डडेल्धुरालाई शेरबहादुर देउवाजीको जिल्ला भनेर पनि चिनिन्छ,यहाँ आइपुगेपछि फोनमा कुरा भयो’, उहाँले भन्नुभयो, ‘उहाँले पनि मेरो जिल्लामा न्यानो स्वागत छ भन्नुभयो,हाम्रो पार्टीको अभियान सफल रहोस् भने शुभकामना पनि दिनुभयो ।’

पूर्व प्रधानमन्त्री प्रचण्डले फरक प्रसंगमा प्रधानमन्त्री केपी शर्मा ओलीले धोका दिएको अनुभव सुनाउनुभयो । ओलीकै कारण वाम एकता भाँडिएको प्रचण्डको विश्लेषण छ । ‘हामीले त वामपन्थी एकता होस् भनेर चाहना राखेकै हौँ, एकताको प्रस्ताव पनि राखेका हौँ’, उहाँले थप्नुभयो, ‘तर त्यो तोडियो,फेरि पनि एकपटक हुन्छ कि भनेर बल गरेको केपीजीबाट नराम्रो धोका खाइयो, पार्टीले मात्रै होइन, जनताले पनि धोखा खाए ।’

प्रचण्डले अब ०८४ भन्दा अघि वाम एकता सम्भव नरहेको पनि स्पष्ट पार्नुभएको छ । पत्रकार सम्मेलनपछि प्रचण्डले बैतडीको पाटन पुगेर मध्यपहाडी लोकमार्ग केन्द्रित पार्टी अभियानको उद्घाटन गर्नुभएको छ । तयार-मधेश जागरण अभियान सकाएर त्यहाँ पुगेका प्रचण्डसहितका नेताहरुलाई खोड्पेका स्थानीयले भव्य स्वागत गरेका थिए ।

टिप्पणीहरू