प्रधानमन्त्रीको बोली र शिव गाउँलेको बहिर्गमन
अनलाइन खबरका प्रधान सम्पादक शिव गाउँले अस्तिदेखि उक्त जिम्मेवारीबाट अलग्गिएका छन् । चार वर्ष दुई महिना प्रधान सम्पादकको भूमिका निर्वाह गरेपछि गाउँलेले दिएको राजीनामालाई प्रधानमन्त्री केपी शर्मा ओली बुद्ध जयन्तीको दिन सोमबार लुम्बिनी जाँदा रित्ता कुर्सीहरुको फोटो छापिएको प्रसंगसङ्ग जोडेर हेरिएको छ । जसलाई तत्काल अनलाइन खबरले क्षमाप्रार्थना गर्दै हटाएको थियोे ।
अनलाइन खबर व्यवस्थापनले उक्त समाचारसँग गाउँलेको राजीनामाको कुनै साइनो नभएको बताएको छ । ‘शिव गाउँले अकस्मात निस्कनुभएको होइन । निकै अघिदेखि छाड्छु भन्दै हुनुहुन्थ्यो । अहिले आएर छाड्नुभएको हो । अरु कुनै विषय नै होइन,’ स्रोतले भन्यो ।
प्रधानमन्त्रीको सम्बोधनसम्बन्धी समाचार र गाउँलेको राजीनामालाई एमाले पत्रकार संगठन प्रेस चौतारीका नेताहरुले उछालेको अनलाइन खबर व्यवस्थापनको बुझाइ छ । व्यवस्थापन स्रोत भन्छ, ‘चौतारी अध्यक्षले जस लिन खोजेका मात्रै हुन् । बाघ कराउनु र बाख्रा हराउनु झैँ भएको हो । शुरुमै गाउँलेले म धेरै बस्दिनँ भनेका थिए ।’
गाउँले २०७७ फागुनदेखि प्रधान सम्पादक थिए । अरुण बराल त्यहाँबाट रातोपाटी,नेपाल खबर,कान्तिपुर टेलिभिजन,हुँदै अहिले खबर हब पुगेका छन् । हिजोदेखि गाउँलेको ठाउँमा सम्पादक वसन्त बस्नेतलाई लगिएको छ ।
बुद्ध जयन्तीका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी गएको समाचारलाई अनलाइनखबरले ‘प्रधानमन्त्री सहभागी बुद्ध जयन्ती मूल समारोहमा धेरै कुर्सी खाली’ शिर्षक सहित समाचार प्रकाशन गरेको थियो । समाचार आएपछि अनलाइन खबरले उक्त समाचार वस्तुगत तथ्य बाहिरको भएको जनाउँदै हटायो र गाउँलेको सरुवासँग जोडियो ।
टिप्पणीहरू