बोल्ने ठाउँ खोसिएपछि अखिलका नेताहरु टिकटकमार्फत खुल्दै

आफ्नो भनाइ राख्ने ठाउँ नपाएपछि नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्यहरुले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोख्न थालेका छन् । केन्द्रीय कमिटीको बैठक र विधान अधिवेशन नहुँदा आफ्ना कुरा राख्नबाट वञ्चित नेताहरुले टिकटकमार्फत अनेरास्ववियुको उकुसमुकुस खोल्न थालेका हुन् ।
केन्द्रीय सदस्य सर्जन परियारले विद्यार्थी नेताहरुले आफ्ना भनाइ कहाँ राख्ने ? भन्दै नेतृत्वलाई प्रश्न सोधेका छन् । केन्द्रीय कमिटी र विधान अधिवेशनलाई ‘बाइपास’ गरेर राष्ट्रिय महाधिवेशनको आयोजना गर्दा वर्तमान परिस्थितिका महत्वपूर्ण विषयमा छलफल नहुन नसकेको उल्लेख गर्दै उनले त्यस्ता विषयमा केन्द्रित हुन नेतृत्वसँग आग्रह गरेका छन् ।
टिकटकमा एउटा भिडियो सेयर गर्दै उनले भनेका छन्,‘न अनेरास्ववियु केन्द्रीय कमिटीको बैठक बस्न सकेको छ न अनेरास्ववियुको विधान अधिवेशन हुन सकेको छ । आज हामी विद्यार्थी नेताहरुले आफ्ना भनाइ राख्ने ठाउँ कहाँ ? अन्तरक्रिया गर्ने ठाउँ कहाँ ? यी विषयलाई बाइपास गरेर राष्ट्रिय महाधिवेशनको जसरी आयोजना गरिएको छ, यो विषयमा हामी केन्द्रित हुन जरुरी छ ।’
आज हामी विद्यार्थी नेताहरुले आफ्ना भनाइ राख्ने ठाउँ कहाँ ? अन्तरक्रिया गर्ने ठाउँ कहाँ ?
देशभरका अनेरास्ववियु प्रतिनिधिले संगठनसँग सम्बन्धित विषय उठाउने ठाउँ केन्द्रीय कमिटीको बैठक र विधान अधिवेशन मात्र भएको बताउँदै उनले त्यसलाई बाइपास गरेकोमा गम्भीर आपत्ति जनाएका छन् ।
अधिवेशन नहुँदा विद्यार्थी संगठनमा उमेर हदबन्दी लगाउने कि नलगाउने ? सांगठनिक संरचना कस्तो बनाउने ? पदाधिकारी कति राख्ने ? स्थायी कमिटी राख्ने कि नराख्ने ? लगायतका महत्वपूर्ण विषयमाथिको छलफल चियागफमा सीमित गर्नुपरेको उनको गुनासो छ ।
‘आज उमेरको हदबन्दी लगाउने कि नलगाउने ? अनेरास्ववियुको सांगठनिक संरचना कस्तो बनाउने ? पदाधिकारी कति राख्ने ? थाई कमिटी राख्ने कि नराख्ने ? निर्वाचन गर्ने कि नगर्ने ? भन्ने विषयमा हामीले डिसकस गरेका छैनौं । चियागफमा हामीले डिसकस गरेका छौं’,उनी भन्छन्,‘वास्तवमा त्यो डिसकस गर्ने ठाउँ देशैभरबाट आएका आम विद्यार्थी, प्रतिनिधि जो विधान अधिवेशनमा सामेल भएर वास्तवमा अनेरास्ववियुको विधान कसरी बनाउने भन्ने विषयमा छलफल गरेर त्यसले पारित गरेको म्यान्डेडको आधारमा अधिवेशनपछि महाधिवेशन हुनुपर्ने हो ।’
एकैचोटि महाधिवेशन गर्दा विद्यार्थी अलमल्ल परेको केन्द्रीय सदस्य परियारको जिकिर छ । उनले नेता बनाउने महाधिवेशनभन्दा नीति बनाउने अधिवेशनको टुंगो लगाउन आवश्यक रहेको भन्दै नेतृत्वहरुको ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जालमा बोल्दा अराजकताको ‘ट्याग’ लाग्ने कुरो पनि निकाल्दै उनले नेतृत्वहरुसँग बोल्ने ठाउँ नखोस्न आग्रह गरेका छन् ।
टिप्पणीहरू