जिबी राईलाई फर्काउन मलेसियन सांसदसँग हारगुहार

सत्तारुढ नेकपा (एमाले)का सांसद सूर्यबहादुर थापा क्षेत्रीले सहकारीको अर्बौँ रकम कुम्ल्याएर भागेका गितेन्द्रबाबु (जिबी) राईलाई नेपाल फर्काउने व्यवस्था मिलाइदिन मलेसियाका सांसदहरुसँग अनुरोध गरेका छन् ।
नेपाल भ्रमणमा रहेको मलेसियाली सांसदहरुको प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्दै उनले सहयोगको अपेक्षा राखेका हुन् । देशका प्रमुख शहरमा ६ वटा सहकारी खोलेर बचतकर्ताको १० अर्ब रकम घोटाला गरी भागेका जिबी ‘माइ सेकेण्ड होम’ नामक विशेष भिसाअन्तर्गत मलेसियामा व्यापार-व्यवसाय गरेर निर्धक्क बसिरहेका छन् । नेपाल सरकारले उनलाई समातेर ल्याउन चाहे पनि सुपुर्दगी सन्धि नभएका कारण सम्भव भैरहेको छैन ।
यस्तोमा सहकारी ठगीसम्बन्धी संसदीय विशेष छानविन समितिको सभापतिसमेत रहेका थापा क्षेत्रीले मलेसियन विधायकलाई भेटेर जिबीलाई नेपाल पठाउने वातावारण बनाइदिन आग्रह गरेका हुन् । सामाजिक सञ्जालमार्फत् उनले यसबारे जानकारी दिँदै हिजो साँझ एक होटलमा भेटवार्ता भएको पनि उल्लेख गरेका छन् ।
‘सहकारीका बचतकर्ताहरूको बचत अपचलन,दुरुपयोग र ठगीमा संलग्न भई फरार रहेको गितेन्द्रबाबु राई सपरिवार सेकेन्ड होम मलेसिया स्किमअन्तर्गत त्यहाँ बसिरहेको हुँदा उनलाई नेपाल पठाउने भूमिका खेलिदिन विशेष अनुरोध गरेको छु’,सांसद थापा क्षेत्रीले लेखेका छन् ,‘प्रतिनिधिमण्डललाई जिबी राई सहकारीको बचत रकम दुरुपयोग गरी विदेशमा लुकी बसेमध्ये संसदीय छानविन विशेष समितिले खोजेर देशमा ल्याई कारबाही चलाउन निर्देशन दिएका २९ जनाको पहिलो नम्बरमा नाम रहेको व्यक्ति रहेको र करिब आठ अर्ब बचत अपचलन र ठगी गरेको तथ्यसमेत जानकारी गराएको छु ।’
गोर्खा मिडिया नेटवर्क प्रालिको अध्यक्षसमेत रहेका जिबीका व्यवसायिक साझेदारहरु पूर्व गृहमन्त्री तथा उक्त प्रालिका तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछाने र उपाध्यक्ष छविवाल जोशी अहिले सोही प्रकरणमा थुनामा छन् ।
टिप्पणीहरू