माननीयले संसदमै ‘सभामुखको माया लाग्छ’ भनेपछि....

माननीयले संसदमै ‘सभामुखको माया लाग्छ’ भनेपछि....

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सभामुख देवराज घिमिरेलाई संसदमै माया लाग्छ भनेपछि माहोल रोचक बनेको छ । आजको प्रतिनिधिसभा बैठकमा सांसदहरुको उपस्थिति न्यून देखिएपछि उनले व्यंग गर्दै सभामुखको माया लाग्ने बताएकी हुन् । 

कुनै बेला संसद भवन देख्नबित्तिकै भित्र छिर्न इच्छा जाग्ने गरेकोमा अहिले भित्रको अवस्था देखेपछि चित्त बुझेको सांसद कार्कीको अनुभव छ । 

‘संसद भवनलाई बाहिरबाट हेर्दा मलाई पनि खैरो कोटमा सांसदको लोगो लगाएर भित्र छिर्न असाध्यै इच्छा थियो, तर अहिले भित्र आएपछि यो त आत्मसम्मानलाई धितो राख्ने ठाउँ पो रहेछ भन्ने थाहा पाएँ’, उनले भनिन्, ‘कहिलेकाहीँ त मलाई सभामुखज्यूको पनि माया लाग्छ, यहाँ कतिपय माननीयज्यूहरु निद्राले झुम्नुहुन्छ, यी खाली कुर्सीहरु, आउनुभएका माननीयज्यू पनि खासखुस गरिरहेको, मन्त्रीज्यूहरु भिडियो गेम खेलिरहेको, यी दृश्य त्यहाँ माथिबाट कस्तो देखिन्छ होला !’

सांसद कार्कीले यसो भनिरहँदा बैठकमा उपस्थित सांसदहरु भने हाँसिरहेका थिए । सरकारले संसदमार्फत् जनतालाई ढाँटिरहेको कार्की को बुझाई छ ।

‘अर्थमन्त्रीज्यूले आएर बजेटका सिद्धान्त र प्राथमिकता पढ्नुहुन्छ, हामी गम्भीर भएर छलफल गर्छौ, संशोधन हाल्छौँ, तर त्यसको कुनै अर्थ हुँदैनरहेछ, छलफल त नीति र कार्यक्रम बनाउनुअघि गर्नुपर्ने हो, तर बजेट सबै बाँडफाँड भइसकेपछि छलफलको नाटक चलाइदोरहेछ’, उनले थपिन् ।
 

टिप्पणीहरू