आगलागीबाट घर खरानी, पाँच दिनपछि कारण खोजी

आगलागीबाट घर खरानी, पाँच दिनपछि कारण खोजी

काठमाडौं महानगरपालिकाले राजधानीको मखन टोलमा भएको आगलागी र समयमै नियन्त्रणमा आउन नसक्नुको कारण पत्ता लगाउन छानबिन समिति गठन गर्ने भएको छ । दुई मिनेटमै दमकल पुग्नसक्ने ठाउँको आगो घण्टौंसम्म नियन्त्रणमा लिन नसक्नुको कारण पत्ता लगाउन महानगरकी उपमेयर सुनिता डंगोलले निर्देशन दिएकी छन् । 

उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई त्यसबारे अनुसन्धानका निम्ति छानबिन समिति गठन गर्न निर्देशन दिएको बताइन्छ । बुधबार मखन टोलस्थित स्थानीय दयाराम श्रेष्ठको घरमा ग्यास चुहिएर आगलागी हुँदा काभ्रेपलाञ्चोककी ८० वर्षीया विष्णु अधिकारीको ज्यान गएको थियो । बिहान पौने ७ बजेदेखि लागेको आगो १० बजेतिर मात्रै नियन्त्रणमा आयो भने त्यसअघि अन्य दुईटा घरसमेत खरानी भए । 

उपमेयर डंगोलको भनाइ छ, ‘दमकल स्टेसनबाट २ मिनेटभित्र पुग्नसक्ने ठाउँको आगो नियन्त्रणमा लिन किन समय लाग्यो ? यसमा के समस्या थियो ? के कारण थियो ? कसको लापरबाही थियो ? आगो सल्किएको घरबाट नजिकका २ वटा घरमा आगो फैलिएर क्षति भयो । यसको छानबिन हुनुपर्छ । सत्य पत्ता लगाएर आउँदा दिनमा यस प्रकारका कमजोरी हुन दिनुहुँदैन ।’

आगलागी नियन्त्रणका लागि तत्परतामा कमजोरी भएको गुनासोपछि उनले घटनास्थलमा दमकल लैजान पूर्वाधारजन्य अवरोध वा व्यवस्थापनमा भएका चुनौती र कमजोरीबारे दमकल, एम्बुलेन्स, स्थानीयबासी, जनप्रतिनिधिसँग छलफल गरेर सूक्ष्म अध्ययन गर्न निर्देशन दिएकी छन् । यस्ता घटनाको जोखिम घटाउन पूर्वतयारी, खोज उद्धार र घटनापछिको राहत तथा पुनःस्थापनाका विषयमा समितिले सिफारिस गर्ने उपमेयर डंगोलको भनाइ छ ।

टिप्पणीहरू