योगेश भट्टराईले छोडेको जिम्मेवारी मञ्जु खाँणलाई

योगेश भट्टराईले छोडेको जिम्मेवारी मञ्जु खाँणलाई

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा भएको अनियमितता छानविन गर्न गठित संसदीय उपसमितिको संयोजकमा सांसद मञ्जु खाँण चयन भएकी छन् । संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उक्त उपसमितिले आज खाँणलाई उक्त जिम्मेवारी दिएको हो । 

लेखा समितिले विमानस्थल निर्माणमा भएको अनियमितता छानविन गर्न एमाले सांसद योगेश भट्टराईको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिले विमानस्थलको स्थलगत अध्ययन गरेर प्रतिवेदनसमेत तयार पारिसकेको अवस्थामा भट्टराईले अघिल्लो साता जिम्मेवारीबाट अलग भएको घोषणा गरेका थिए । 

प्रतिवेदनमाथि नै प्रश्न उठाइरहेको बेला गत आइतबारको लेखा समितिको बैठकमा ‘पूर्व पर्यटनमन्त्री भइसकेको मान्छे उपसमितिको संयोजक बन्न शोभनीय नहुने’ भन्दै भट्टराईले आफू जिम्मेवारीबाट बाहिरिएको जानकारी गराएका थिए । आज बसेको उपसमितिको बैठकले उनको ठाउँमा खाँणलाई चयन गरेको हो । 

पूर्व गृहमन्त्री बालकृष्ण खाँणकी पत्नीसमेत रहेको उनी नेपाली काँग्रेसकी संसद हुन् ।

टिप्पणीहरू