बालेनको आग्रह वडाध्यक्षहरुद्वारा अस्वीकार

बालेनको आग्रह वडाध्यक्षहरुद्वारा अस्वीकार

काठमाडौं महानगरपालिकाका तीन जना वडाध्यक्षले समितिको जिम्मा लिन अस्वीकार गरेका छन् । जेठ १ गते मेयर बालेन्द्र (बालेन) साहको सचिवालयले तोकेको जिम्मेवारीमा नरहने उल्लेख गर्दै वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापति, वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्की र वडा नम्बर २४ का वडाध्यक्ष विनोदकुमार राजभण्डारीले आज सामूहिकपत्र बुझाएका हुन् । आफूहरुलाई तोकिएको जिम्मेवारी कार्यपालिकाको बैठकबाट अनुमोदन नभएकाले उक्त जिम्मेवारी सम्हाल्न उपयुक्त नहुने उनीहरुको भनाइ छ । 

‘हामी तपसिलका नगर कार्यापालिकाको सदस्यहरुलाई काठमाडौं महानगरपालिका नगर कार्यपालिका (कार्यसम्पादन नियमावली, २०७४ को नियम १५ को उपनियम (१) बमोजिमको तपसिलका विषयगत समितिका संयोजकको जिम्मेवारी तोकिएका जिम्मेवारीहरु कार्यपालिकाको बैठकबाट अनुमोदन नभएको अवस्था विद्यमान भएकाले, उपयुक्त नदेखिने हुँदा तत् तत् तोकिएको जिम्मेवारीमा नरहने व्यहोरा श्रीमान् प्रमुखज्यूसमक्ष संयुक्त रुपमा जानकारीका लागि अनुरोध गर्दछौं’,पत्रमा उल्लेख छ ।

मेयर बालेनले आफूविरुद्ध बोल्ने वडाध्यक्षहरुलाई कारबाहीस्वरुप समितिको जिम्मेवारीबाट हटाएर उनीहरुलाई संयोजक तोकेका थिए । सुशासन समितिमा संयोजकको जिम्मा कार्की, सूचना प्रविधि समितिको प्रजापति र सम्पदा तथा पर्यटन समितिको राजभण्डारीलाई दिइएको थियो ।

टिप्पणीहरू