याे हाे अन्तर्राष्ट्रिय राजनीतिको असली रूप

याे हाे अन्तर्राष्ट्रिय राजनीतिको असली रूप

आफूलाई विश्वको महाशक्ति ठान्ने अमेरिका र दोस्रो कार्यकालको पदभार सम्हाल्लेका राष्ट्रपति डोनाल्ड ट्रम्पले दादागिरी भनौँ कि सामन्ती (?) शैलीमा विश्वभर पैठारी कर आतंक सिर्जना गरे । कुनै तथ्य वा आर्थिक सन्दर्भ बिना आफ्नो मनमौजी अनुसार देशपिच्छे करको दर तोके । 

अमेरिकाभित्रै ट्रम्पको उक्त घोषणाको विरोध भयो, अन्यत्र झन् बढी आलोचना हुने नै भयो । चीनले अमेरिकाको दादागिरीविरुद्ध जुनसुकै युद्धका लागि आफूहरू तयार रहेको उदघोष गरेलगत्तै ट्रम्प स्वःघोषित पैठारी करको दर सच्याउँदै व्यापार सम्झौता गर्न बाध्य भएका छन् । केही हप्ता पनि नटिक्ने उनको हुँकारविरुद्ध विश्व जनमत संगठित हुनुले समेत चीनका लागि माहोल बन्न सघाएको छ । चीनको राष्ट्रहित तथा आत्मविश्वासपूर्ण सन्तुलित परराष्ट्र नीतिलेसमेत छिमेकीसँगै अधिकांश मुलुक अमेरिकी पैठारी करको आतंकविरुद्ध बोल्न अघि सरेका हुन् ।

चीनका बारेमा कुरा गर्दा अमेरिकाको सन्दर्भ यसर्थ उठाइएको छ कि विश्व परिवेशमा सन्तुलित, दीगो परराष्ट्र सम्बन्ध निर्माणमा अपवाद बाहेक चीन चुकेको पाईंदैन । शक्ति तथा सामरिक स्वार्थका लागि नभई दौत्य सम्बन्ध, मितेरी साइनोसँगै दुईपक्षीय हितका उद्यम तथा व्यापार सन्दर्भमा समेत चीनको नीति प्रष्ट र दीगो देखिन्छ ।

पाकिस्तान सामरिक हिसाबले कमजोर नभएको प्रमाणित हुनासाथ अमेरिकाको संकेतमा भारत युद्धविरामका लागि बाध्य भएको विश्लेषण छ 

उता शक्तिले उन्मत्त अमेरिकाको राष्ट्रपतिको तजबिजीमा परराष्ट्र नीति तय हुने गरेको छ । ट्रम्पले यूएसआइडी अन्तर्गतका सहयोग खारेज मात्र गरेनन् बहुराष्ट्रिय स्वार्थसँग जोडिएको भनिएको एमसिसी परियोजनालाई समेत निष्क्रिय तुल्याएका छन् । यी सन्दर्भ शासकीय सनकले मैत्री तथा दौत्य सम्बन्धमा व्यक्तिका कारण नकारात्मक असर पर्दा राष्ट्रिय हितमा समेत प्रतिकूल असर पर्दछ भन्ने गतिला उदाहरण हुन् । 

भारत पाकिस्तानबीच केही दिन तनाव भयो, युद्धको अभ्यास भयो । भारतले ठाने झैं पाकिस्तान सामरिक हिसाबले कमजोर नभएको प्रमाणित हुनासाथ अमेरिकाको संकेतमा भारत युद्धविरामका लागि बाध्य भएको विश्लेषण छ । चीनले युद्ध होइन छिमेकी देशबीच शान्तिपूर्ण व्यवहार कायम रहोस् भन्ने अभिव्यक्ति अगाडि सारेको थियो । 

वर्तमान विश्वमा आफूलाई एक्लो महाशक्ति ठान्ने अमेरिकासँग मात्र होइन गरिब र विपन्न ठानिएका देशसँग पनि सौहार्दपूर्ण सम्बन्धमा जोड दिने हुनले चीनसँग सहकार्य र विकासका लागि सहयोग सहज ठानिन्छ । चीनले टाढाको विकसित र शक्तिशाली देशभन्दा नजिकको अविकसित छिमेकी देशलाई महत्व दिन्छ भन्ने उदाहरण नेपालसँगको सम्बन्ध अनि व्यवहारले पुष्टि गरेको छ । 

विशाल भूगोल भएको चिनियाँ नागरिक उत्तिकै आत्मीय, मिलनसार र सहयोगी पाइन्छ । छिमेकी देशहरूको समेत भलो चिताउने हुनाले भूगोलमा साना र आर्थिक रुपमा विपन्न देश भएपनि सार्वभौम सत्ताको सम्मान गर्ने चीनको प्रमुख विशेषता हो । शान्ति, सहकार्य, खुल्लापन, समावेशिता र साझा मूल्यमान्यता चीनको परराष्ट्र सम्बन्धका मूल आधार हुन् । चीनले छिमेकीसँग आत्मीय सम्बन्ध कायम गर्न चाहन्छ भन्ने उदाहरण खोजिरहनु पर्दैन हामी सबैले महशुस गरेकै तथ्य हो ।

टिप्पणीहरू