‘रोल्पाः टुरिजम् फर पिस’ फोटो प्रदर्शनी (तस्बिरहरु)

‘रोल्पाः टुरिजम् फर पिस’ फोटो प्रदर्शनी शुरु भएको छ । नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा कफीमा प्रदर्शनी थालिएको हो ।
रोल्पाका धार्मिक, सांस्कृति तथा पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने उद्देश्यसहित पर्यटन प्रवद्र्धन मञ्च नेपालले आयोजना गरेको प्रदर्शनी पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ले उद्घाटन गरेका हुन् । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेको विशेष आतिथ्य रहेको कार्यक्रममा रोल्पाबाट आएर काठमाडौंमा बसोबास गरिरहेका विभिन्न क्षेत्रका व्यक्ति, कलाकार, पत्रकार, पर्यटनकर्मी, साहित्यकारको उपस्थिति थियो ।
प्रदर्शनीमा फोटोपत्रकार पृथ्वी पुन (बल्कुराम)ले खिचेका रोल्पाको कला, संस्कृति, पर्यटन र इतिहास झल्काउने ३० भन्दा बढी फोटो राखिएको छ ।
साहित्यकार सुमन थापा ‘संगम’ले सञ्चालन गरेको उद्घाटन समारोहमा स्वागत मन्तव्यमार्फत वरिष्ठ पर्यटनपत्रकार अमृत भादगाउँलेले फोटो प्रदर्शनीबारे जानकारी दिएका थिए । टानका अध्यक्ष पाण्डेले प्रदर्शनी सफलताको शुभकामना दिए ।
प्रमुख अतिथि पुनले रोल्पा विगतमा ‘राजनीतिक द्वन्द्वको केन्द्र’ भनेर चिनिने गरेकोमा अहिले आर्थिक हिसाबले उत्पादन र प्रवद्र्धनको केन्द्रको रुपमा विकास गर्ने कोशिस गरिरहेको उल्लेख गर्दै भने, ‘आर्थिक उत्पादन रोजगारी सिर्जनाको एउटा महत्वपूर्ण क्षेत्र पर्यटन हो । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सो क्षेत्रका फोटो संकलनहरु यहाँ प्रदर्शनीमा आएका छन् । मलाई खुशी लागेको छ ।’ पुनले फोटो प्रदर्शनीले रोल्पाको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
त्यस्तै फोटोपत्रकार बल्कुरामले संघीय राजधानी काठमाडौंमा आफूले खिचेका तस्बिरहरु देखाएर रोल्पाको पर्यटन प्रवद्र्धनमा थप टेवा पुर्याउने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरे। उनले उपस्थित सबैलाई धन्यवाद दिँदै एकपटक रोल्पामा घुम्न निम्तोसमेत दिए।
प्रदर्शनी पर्सिसम्म जारी रहने छ । सो अवधिभर विभिन्न व्यक्तिहरुको उपस्थितिमा रोल्पाको पर्यटन विकासबारे चर्चा हुने आयोजक पर्यटन प्रवद्र्धन मञ्च नेपालले जानकारी दिएको छ।
टिप्पणीहरू