प्रधानमन्त्रीलाई लिङ्गदेनको जवाफ : हेलिकप्टरमा भाग्न सुविधा दिन्छौँ
राजसंस्था पुनर्स्थापनका लागि हुने अबको आन्दोलन निर्णायक हुने राजावादीहरुले उद्घोष गरेका छन् । गणतन्त्र दिवसको दिन पारेर जेठ १५ गतेदेखि लगातार आन्दोलन गर्न लागेका राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्गदेनले आज त्यस्तो दाबी गरेका हुन् ।
गणतन्त्रवादी नेतालाई भाग्न बाध्य पार्नेगरी आन्दोलन चर्काउने उनले बताए । भाग्न नसक्नेहरुलाई हेलिकोप्टर प्रयोगको सुविधा दिने भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्षसमेत गरे ।
बैशाख २८ गते प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बगंलादेशको उदाहरण दिएर फुर्ति नलगाउन राजावादीहरुलाई चेतावनी दिएका थिए । संसद्को रोष्टममा उभिएर भनेका थिए, ‘त्यै बंगलादेशमा पनि कुनैबेला राजारानी थिए त, राजा ल्याउन आन्दोलनहरु पनि भएकै हुन्, के त्यहाँ राजा आए त ? हामीलाई भाग रे...!’
त्यसको ठ्याक्कै एक महिनाअघि चैत २८ गते लिङ्देनले ‘सम्झौता नगर्ने भए भाग्न तयार हुनू’ भन्दै दिएको चेतावनी सम्झंदै प्रधानमन्त्रीले जवाफ दिएका थिए, ‘एकजना माननीयज्यूले बोल्नुभएको मैले सुनेँ । कि राजा ल्याउने सम्झौता गर, हैन भने भाग्न तयार होऔ, कहाँ भाग्ने ? एउटा थोत्रो संस्थाको तर्फबाट मक्काएको, खिएको, सडेको संस्थाको तर्फबाट नेपाली जनतालाई लल्कार्ने ? नेपाली जनता भाग्दैन ।’
त्यसको जवाफ दिँदै आज लिङ्गदेनले भाग्नका लागि जहाज प्रयोग गर्न छुट दिने बताएका हुन् । ‘सम्झौता नगर्ने हो भने, भाग्नैपर्छ । उमेरकाे हिसाबले बुढा भएकाहरु, भाग्न नसक्नेहरुलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ । हेलिकोप्टर प्रयोग गर्ने सुविधा दिन्छौ, त्यसरी अबको आन्दोलन अघि बढ्छ’, उनले भने ।
जेठ १५ गतेको प्रदर्शनमा परिवारका सदस्यलाई पनि लिएर सडकमा उत्रन कार्यकर्तालाई अपिल गरेका उनले राजसंस्था पुनर्स्थापना नहुँदासम्म आन्दोलन नरोकिने जिकिर गरे । चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा साथ दिएको राप्रपाका अध्यक्षले अबको आन्दोलनमा कुनै हिंसात्मक गतिविधि नहुने प्रष्ट पारेका छन् ।
‘यसअघिका आन्दोलनमा घरबाट एक एक जना आउनुहुन्थ्यो भने यो पटक परिवार नै लिएर आउनुस्’, उनले भने, ‘आन्दोलन शान्तिपूर्ण हुन्छ, कसैलाई हिंसा गर्न दिदैनौँ ।’
लिङ्देनले जेठ २ गते प्रतिनिधिसभा बैठकमा पनि सरकारलाई विद्रोहको चेतावनी दिएका थिए । राजावादी आन्दोलनमा लागेका व्यक्तिहरुलाई सरकारले छानीछानी समातिरहेको भन्दै उनले के खोजेको हो भनी प्रश्न गरेका थिए ।
‘आस्थाकै आधारमा एकपछि अर्को मानिसलाई पक्राउ गरेर प्रधानमन्त्री र गृहमन्त्रीले के गर्न खोज्नुभएको हो ?’, उनले भनेका थिए, ‘यसरी निषेध गरेर लैजाने हो भने हामीलाई औपचारिक रुपमै भिनिदिनुस्, विद्रोहमा जाऊ, जंगल पस भनेर, हामी आफ्नो व्यवस्था गछौँ ।’
स्मरण रहोस्, दुई साताअघि सुकेधारस्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' को बैठकले आन्दोलनको रणनीति बनाउने जिम्मा लिङ्देनलाई नै दिएको थियो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आन्दोलन समितिको संयोजक नवराज सुवेदी कायम रहने र त्यसको अग्रणी नेतृत्व लिङ्देनले गर्ने जानकारी गराएका थिए ।
त्यसयता राजावादी समूहमा देखिएको तिक्तता शाम्य भएको र लिङ्गदेनहरु पनि बढी नै उत्साहित भएको कतिपयको बुझाई छ ।
टिप्पणीहरू