माग सम्बोधन भए अर्थमन्त्रीलाई साथ दिन्छौं : व्यवसायी
आगामी आर्थिक वर्षको बजेट भाषण नजिकिँदै गर्दा निजी क्षेत्रले खोलानाला, नदीबाट गिट्टी, रोडा, ढुंगा उत्खनन् र बेचबिखन तथा निर्यात गर्न पाउने व्यवस्था मिलाउन आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघजस्ता संस्थाहरुले आउँदो बजेटमा त्यस्ता कार्यक्रम ल्याउन सरकारलाई सुझाएका हुन् ।
उनीहरुले गिट्टी, रोडा, ढुंगा उत्खनन्, बिक्रीवितरण र निर्यात सम्बन्धमा आवश्यक कार्यविधि बनाएर आन्तरिक खपतभन्दा बढी परिमाण निर्यात गर्न पाउने व्यवस्था मिलाउन अनुरोध गरेका छन् । नदी उकासिएका कारण खेतीमा समेत प्रभाव परिरहेको र भारत, बंगलादेशमा अबको केही वर्षमै माग कम हुने देखिएकाले तत्काल उपयोग र निर्यात खुला गराउनुपर्ने निजी क्षेत्रको माग छ ।
प्राकृतिक स्रोत साधनको प्रयोगमाथि लगाइएका कडा कानूनहरुले करोडौं पर्ने वस्तुहरु खेर गइरहेको उल्लेख गर्दै उनीहरुले बजेटमा यस्ता कार्यक्रम ल्याएमा अर्थमन्त्रीलाई बलियो साथ दिनेसमेत घोषणा गरेका छन् । ‘माननीय मन्त्रीज्यूले यसअघिको बजेटमा हाम्रो आग्रहमा उक्त व्यवस्था गरेपनि पछि विशेषगरी सामाजिक सञ्जालमा विरोधका कारण पछाडि हट्नुपरेको थियो । यसपटक हामी सरकारसँग यस विषयमा सँगै रहनेछौँ र साथ दिने प्रतिबद्धता व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
टिप्पणीहरू