जनआस्थामा आयो समाचार, गृहको अत्याचार अख्तियारद्वारा भण्डाफोर

जनआस्थामा आयो समाचार, गृहको अत्याचार अख्तियारद्वारा भण्डाफोर

भिजिट भिसामा सेटिङ मिलाएर अवैध असुली गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएसँगै थप पोल खुल्ने डरले अन्य कर्मचारीको रातारात सरुवा गरिएको छ । 

गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख छवि रिजालले सहसचिवस्तरीय निर्णय गर्दै अध्यागमनमा कार्यरत आठ कर्मचारीको सरुवा गरेका हुन् । भिजिट भिसामा विदेश जानेहरूसँग अवैध असुलीमा संलग्न रहेको भनिएका अध्यागमनका नायब सुब्बा प्रेमप्रसाद पौडेल र वीरभद्र जोशीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँ पठाइएको छ । 

अर्का नासु नरबहादुर थापालाई जिल्ला प्रशासन कार्यालय बाँके भगाईएको छ । त्यस्तै,सहायक कम्युटर अपरेटर कमला श्रेष्ठ,कम्युटर अपरेटरहरु उदेन सुवेदी, प्रदीप कुमार यादव,पवन गुरुङ र धनराज उपाध्याय कारागार व्यवस्थापन विभाग पुगेका छन् । 

गृहमन्त्री रमेश लेखकको सचिवालयको प्रत्यक्ष चासो र सहसचिव भट्टराईको निर्देशनमा उनीहरुले नक्कली कागजात तयार पारेर नेपालीलाई भिजिट भिसामा खाडी मुलुक पठाउने गरेको अख्तियारको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गृहमन्त्री लेखकले मंगलबार साँझ मन्त्रीस्तरीय निर्णय गर्दै प्रमुख अध्यागमन प्रमुख भट्टराईलाई मन्त्रालय तानेर पाँचथरका प्रमुख जिल्ला अधिकारी सहसचिव विष्णुप्रसाद कोइरालालाई अध्यागमनको जिम्मेवारी तोकेका थिए । त्यसको भोलिपल्टै उनी पक्राउ परेबाट पनि मन्त्रीकै संरक्षणमा त्यस्तो बदमासी भैरहेको अनुमानलाई बल पुर्याएको छ  ।

गृहमन्त्रीले अख्तियारको सम्भावित कदमबारे जानकारी भएरै भट्टराईलाई मन्त्रालयमा तानेको चर्चा चलिरहँदा उनको सचिवालयकै कर्मचारीले  मिलेमतो गरेको तथ्य पनि बाहिर आएको छ । स्रोतका अनुसार अख्तियारले यस प्रकरणको अनुसन्धान गर्न अनुभवी र विज्ञ अधिकृतको टोली गठन गरिसकेको  छ । प्रारम्भिक अनुसन्धानमा भट्टराई र गृहमन्त्री लेखकका स्वकीय सचिव जनक भट्टबीच अस्वभाविक सम्पर्क भएको खुलेको छ । 

भट्टराईले माथिसम्मै पैसा खुवाएर भिजिट भिसाको काम गरेको बयान दिएको दावी पनि गरिएको छ । बरामद भएका मोबाइल,ल्यापटप र कम्युटरको फरेन्सिक ल्याब परीक्षणकाे रिपाेर्ट तयार भइनसकेकाले विस्तृत तथ्य खुल्न भने बाँकी नै छ । तर,गृहमन्त्रीको सचिवालयका ३ जना अनुसन्धानमा तानिने पक्का रहेको बताइन्छ ।

चैत ३१ गते जनआस्था अनलाइनले 'कस्तो संकेत हो यो एयरपोर्टका कर्मचारीको ?' शीर्षक समाचारमा अध्यागमनका कर्मचारीले  घुस उठाउन उनीहरुले मात्र बुझ्ने कोडसहित आन्तरिक सर्कुलर गरेको प्रमाणसहितको विवरण उल्लेख गरेको थियो ।

‘अस्ति आयोगको बैठकले अनुसन्धान अधिकृत तोकेर एउटा टोली बनाएको छ’,स्रोतले भन्यो, ‘म्यानपावरका मामुली एजेन्ट,खरदारदेखि उच्च अधिकृत हुँदै मन्त्रीको सचिवालयसमेत जोडिने भएपछि अनुसन्धानको लागि विशेष टोली बनाइएको हो ।’

भिजिट भिसाका नाममा ट्राभल एजेन्सी, मेनपावर कम्पनी र अध्यागमनका कर्मचारीले सेटिङ गरेर दैनिक लाखौँ रकम उठाउने गरेको खुलासा जनआस्थाले गत चैतमै गरेको थियो । यस प्रकरणलाई उजागर गर्दै पहिलोचोटि चैत ३१ गते जनआस्था अनलाइनले 'कस्तो संकेत हो यो एयरपोर्टका कर्मचारीको ?' शीर्षक समाचारमा अध्यागमनका कर्मचारीले  घुस उठाउन उनीहरुले मात्र बुझ्ने कोडसहित आन्तरिक सर्कुलर गरेको प्रमाणसहितको विवरण उल्लेख गरेको थियो ।

दलालहरुसँग मिलेर अध्यागमनका कर्मचारीले गरेको बदमासी खुलासा गर्ने क्रममा जनआस्थाले केही कागजपत्र पनि बाहिर ल्याएको थियो । जसमा बुँदागत रुपमा १ देखि १४ नम्बरसम्म लेखी श्रमका लागि पर्यटन भिसामा कुन देश जाने यात्रुसँग कति पैसा लिने भनेर लेखिएको छ ।

अहिले यो प्रकरणमा गृहमन्त्री र मन्त्रालयको समेत संलग्नको चर्चा भैरहँदा समाचारमा पर्यटक भिसामा विदेशिएर उतै काम गर्ने नेपाली महिलालाई अंग्रेजी अक्षर एल र पुरुषलाई अंग्रेजी अक्षर एस संकेत गरिएको सो सर्कुलर गृह मन्त्रालयका एक उच्च अधिकारीको हातमा पनि पुगेको खुलाइएको थियो । 

एक नम्बर बुँदामा पर्यटक भिसामा श्रमका लागि युएई र ओमानलगायत खाडी राष्ट्र जाने एल (महिला)सँग ४० हजार र एस (पुरुष)सँग २० हजार रुपैयाँ लिइने उल्लेख छ । दुई नम्बरमा सबै एसियाली देशमा जानेसँग महिला ४० र पुरुषका लागि २० हजार नै लिइने लेखिएको छ । तीन नम्बरमा अन्य युरोपियन सेन्जेन मुलुकमा पठाउँदा पनि माथिकै मूल्य लिइने उल्लेख छ ।

सर्कुलरको चार नम्बरमा पर्यटक भिसामा श्रम गर्न पूर्वी युरोप उड्ने नेपाली महिला तथा पुरुष दुवैथरीसँग ४०-४० हजार रुपैयाँ लिइने संकेत छ । पाँच र छ नम्बर बुँदामा युरोपमा श्रमका लागि र युरोप सी श्रम उल्लेख गरी प्रतिव्यक्ति महिला/पुरुष दुवैथरीसँग १०-१० हजार लिइने लेखिएको छ । यसैगरी सात र आठ नम्बरमा क्रमशः कमन आइल्याण्ड श्रम र सीमा श्रममा जानेहरूका लागि पनि २०/२० हजारको दर तोकिएको छ ।

नौ, दश र एघार नम्बरमा क्रमशः अफ्रिका प्लस साइप्रस, कम्बोडिया र अजरबैजान कमन आइल्याण्डसमा जाने श्रमिकसँग लिइने दर पुरुष तथा महिला सबैसँग प्लस १० हजार उल्लेख गरिएको छ । यो भनेको माथि महिलालाई ४० हजार र पुरुषसँग २० हजार लिइनेमा यसैमा थप १० हजार लिइने भनिएको हो । 

त्यस्तै, गत वैशाख १९ गते जनआस्थामै 'विदेश उड्दा पनि खुवाउनै पर्ने देश' शीर्षकमा अर्को समाचार छापिएको थियो । अघिल्लो समाचारका कारण अध्यागमनका कर्मचारीले आन्तरिक सर्कुलर गरेर ‘एल’ लाई श्रमका लागि पर्यटक भिसामा विदेश उडाउने कार्य रोक्न थालेको विषय उक्त समाचारमा उल्लेख छ । 

समाचार प्रकाशित भएको केही दिनपछि पठाइएको उक्त सन्देशमा ‘मिति २०८१।१२।३१ आइतबारदेखि भिजिट भिसामा जाने "एल"हरुको हकमा प्रस्थान अनुमति नदिइने भएकोले सोही बमोजिम गर्न गराउन जानकारी गराइन्छ’ भनिएको छ ।

याे पनि...

कस्तो संकेत हो यो एयरपोर्टका कर्मचारीको ?

विदेश उड्दा पनि खुवाउनै पर्ने देश

 

टिप्पणीहरू