चोभारमा बिजुली गाडी जाम
आगामी आर्थिक वर्षको बजेटमा सवारी साधन कर बढ्ने आकलन गर्दै व्यापारीहरुले धमाधम गाडी ल्याउने क्रम जारी छ । विशेषगरी विद्युतीय गाडी १५ गतेभित्र भित्र्याइसक्न अटोमोबाइल्स डिलरहरुलाई भ्याइनभ्याइ छ ।
टाटा कम्पनीको बाहेक अधिकांश विद्युतीय गाडी चीनबाट ल्याइने भएकाले कोदारी र केरुङ मार्गबाट ल्याइएका गाडीहरु चोभारस्थित सुख्खा बन्दरगाहमा राखिएको छ । उता महालेखापरीक्षकको कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनमा चीनबाट आयातित विद्युतीय सवारी साधनको क्षमता घटाएर नक्कली कागजातको आधारमा भन्सार छलिएको कैफियत उल्लेख गरेको छ । प्रतिवेदनमा हालसम्म कम्तीमा ३ अर्ब ७७ करोड ४४ लाख १९ हजार रुपैयाँ राज्यलाई ठगिएको ठहर छ ।
सोही क्रमलाई निरन्तरता दिँदै व्यापारीहरुले सकेसम्म बढी विद्युतीय सवारी साधन आयात गरेका हुन् । गत वैशाखदेखि यता झण्डै दुई हजार त्यस्ता सवारी साधन ल्याइएको छ । चीनसँगको नाकामा अरु एक हजारभन्दा बढी विद्युतीय सवारी साधन यता भित्र्याउन लाइनमा राखिएको बताइन्छ ।
यही मेसोमा गाडी व्यवसायीहरुले राष्ट्र बैंकका नयाँ गभर्नर डा. विश्वनाथ पौडेलसँग भेटवार्ता गर्दै विद्यमान मौद्रिक नीतिलाई पुनरावलोकन गरिदिन आग्रह गरेका छन् । उनीहरुले विद्युतीय गाडी खरिदमा बैंक कर्जालाई खुकुलो पारिदिनुपर्ने माग अघि सारेका छन् ।
हालको लोन टु भ्यालु रेसियो ५० प्रतिशतलाई ७० प्रतिशत पुर्याउनुपर्ने व्यापारीको मागपत्रमा उल्लेख छ । तर, राष्ट्र बैंक त्यसमा सहमत देखिँदैन । मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा गरिएको उक्त पुनरावलोकन तत्काल हुने सम्भावना देखिँदैन ।
टिप्पणीहरू