घुसपैठ रोक्न राजावादीहरु हुल बाँधेर आयोगमा

घुसपैठ रोक्न राजावादीहरु हुल बाँधेर आयोगमा

जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेका राजावादीहरुले अनुगमन गरिदिन आग्रह गर्दै राष्ट्रिय मानव अधिकार आयोग गुहारेका छन् । 

'राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति' का संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतले आज आयोगका अध्यक्ष टोपबहादुर मगरलाई भेटेर पत्र बुझाएका हुन् । आन्दोलनमा सरकारले घुसपैठ गरेर दमन गर्न सक्ने जिकिर गरिएको पत्रमा प्रदर्शनस्थलमै खटिएर अनुगमन गर्न आयोगको ध्यानाकर्षण गराइएको छ । 

पत्र बुझाउँदै समितिका संयोजक सुवेदीले चैत १५ को तीनकुने घटनामा अझै पनि तीन दर्जनभन्दा बढीलाई गैरकानुनी ढंगले हिरासतमा राखिएको बताएका थिए । त्यसदिन आन्दोलनमा घुसपैठ भएको उनको दाबी छ ।

यता, प्रहरीले भने चैत १५ को जस्तो स्थिति दोहोरिन नदिन कडा सुरक्षा रणनीति बनाएको जनाएको छ । नक्सालस्थित हेडक्वार्टरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा एएसपी शेखर खनालले जेठ १५ गतेको तयारी पूरा भएको जानकारी दिए । 

‘सुरक्षा व्यवस्थाको सम्बन्धमा सबै तयारी पूरा भएको छ, कुनै जनधनको क्षति हुँदैन’, उनले भने, ‘आन्दोलनमा परिचालन हुन आवश्यक पर्ने जनशक्ति व्यवस्थापन भइसकेको छ, तलमाथि केही हुँदैन ।’

टिप्पणीहरू