विदेशका नाममा खोक्रो नबनाऊँ देश

विदेशका नाममा खोक्रो नबनाऊँ देश

हाम्रो देशमा कम्युनिष्ट भन्ने एमाले र माओवादी अनि लोकतान्त्रिक ठान्ने कांग्रेस समाजवादी अर्थतन्त्रको वकालत गर्छन् तर समाजवादी अर्थतन्त्रका मजवुत आधार खडा गर्नेतिर लाग्दैनन् । उदाहरणका लागि समाजवादी अर्थतन्त्रको विकासमा मानव संशाधनको महत्वपूर्ण भूमिका हुन्छ । तर, आफूलाई समाजवादी दल भन्ने र समाजवादी बाटोमै हिँडेको दावी गर्ने यी दल नेतृत्वको सरकार भने मानव संशाधनलाई पूरै पलायन हुन प्रोत्साहित गर्छ, जसकारण स्वदेशी पुँजीको विकास हुन सक्दैन । जबसम्म स्वदेशी पुँजीको विकास हुँदैन तबसम्म समाजवादी अर्थतन्त्रको कुरा गर्नु बेइमानीबाहेक अर्थोक हुनै सक्दैन । 

हो, समाजवादी अर्थतन्त्रको मूल उद्देश्य आर्थिक समानता, सामाजिक न्याय र सबै नागरिकका लागि जीवनस्तरको उन्नति सुनिश्चित गर्नु हो । यस नीतिभित्र आधारभूत आवश्यकता, जस्तैः शिक्षा, स्वास्थ्य र रोजगारीको प्रत्याभूति भएको हुन्छ । तर, हाम्रो देशमा समाजवादी नीति लिने राजनीतिक दलले भने युवालाई यी सबै कुराबाट सम्पन्न गराएको उदाहरण छैन । 

सैद्धान्तिक रूपमा समाजवादी मोडलअनुसार सबै नागरिकलाई स्वदेशभित्रै उपयुक्त र सुरक्षित रोजगारी पैदा गर्नु राज्यको पहिलो दायित्व हुनुपर्छ । यसको ठीक विपरीत समाजवादी नीति लिएका हौं भन्ने दलहरु वैदेशिक रोजगार व्यवसायी संघ, रिटर्नी फेडका नाममा वैदेशिक रोजगारीलाई प्रवद्र्धन गर्न संस्था गठन र परिचालनमा व्यस्त देखिन्छन् । यस्तो कार्यले समाजवादी अर्थतन्त्रलाई टेवा दिँदैन, अपितु ध्वस्त बनाउँछ भन्ने सामान्य ज्ञान पनि राखेको पाइन्न । दलैपिच्छेका वैदेशिक रोजगार संगठन खोल्ने, गठबन्धनको प्यानल बनाएर चुनाव लड्ने, त्यसैलाई इज्जत र प्रतिष्ठाको विषय बनाउने प्रवृत्ति राम्रो होइन । 

अहिले ४० लाखभन्दा बढी नेपाली वैदेशिक कामदारको रूपमा खाडी मुलुक कतार, युएइ, मलेसिया, कोरिया र जापान गएका छन् । त्यताको रोजगारीबाट प्राप्त रेमिट्यान्सले कूल गार्हस्थ उत्पादनको २० देखि २५ प्रतिशत ओगट्दै आएको छ । तर, दुःखको कुरा यो आन्तरिक उत्पादनबाट प्राप्त आय होइन, स्वदेशभित्रै सञ्चालित उद्योगधन्दाबाट प्राप्त राजश्व होइन बरु तरल अवस्थामा रहेको श्रमशक्ति र वैदेशिक रोजगारीको उपज हो । हो रेमिट्यान्सले गरिबी घटाउँछ, विदेशी मुद्राको सञ्चिति बढाउँछ तर यसबाट आत्मनिर्भर र समाजवादी अर्थतन्त्रको निर्माणलाई बेवास्ता गर्ने र पछाडि धकेल्दै लैजाने काम हुन्छ ।

समाजवादी अर्थतन्त्र निर्माण गर्दा वैदेशिक आयको निर्भरता दीर्घकालका लागि उचित हुँदैन । किनकि यसले श्रमशक्तिलाई पलायन हुन प्रेरित गर्छ । स्वदेशमा श्रमिकको अभाव सिर्जना गर्छ, खेतबारी बाँझो राख्छ, उद्योग धन्दालाई रुग्ण बनाउँछ । मूल कुरा त आत्मनिर्भर हुने बाटोमा बाधा तेस्र्याउँछ । त्यसैले हाम्रा नेता वैदेशिक रोजगारीलाई प्रवद्र्धन गर्ने कार्यक्रमको उदघाट्न गर्न तम्सिनुभन्दा स्वदेशभित्रै रोजगारी सिर्जना गर्न सके र त्यस्ता कार्यक्रमको उद्घाटन गरे असल हुन्थ्यो होला । दुर्भाग्य ! नारा समाजवादको, काम भने पुँजीवादी अर्थतन्त्रको विकास गर्ने भइरहेको छ ।

हाम्रोजस्तो देशमा जहाँ समाजवादी संरचना स्थापित छैनन्, वैदेशिक रोजगारी अर्थतन्त्रकै मेरुदण्ड बन्ने अवस्था छ– यसबाट बच्नुपर्ने अवस्था छ । स्वदेशभित्रै रोजगारीको अवसर सिर्जना गर्न ध्यान दिनु आवश्यक छ । जनशक्ति पलायन हुने क्रियालाई निरुत्साहित गर्न र उताबाट कमाएर फर्किएपछिमात्रै सम्मानित ठानिने प्रवृत्तिलाई निरुत्साहित गर्नु आवश्यक छ । 

 

टिप्पणीहरू