उपचार खर्च जुटाउन नसकेपछि एमाले नेताद्वारा सहयोगको याचना
उपचार खर्च नभएपछि नेकपा एमालेका एक स्थानीय नेता अस्पतालको बेडमा छन् । पार्टी निकट जनसांस्कृतिक महासंघका मधेश प्रदेश इञ्चार्ज तथा अध्यक्ष आभास श्रेष्ठले उपचार खर्च तिर्न नसकेपछि सहयोगको याचना गरेका हुन् ।
अघिल्लो शनिबार बर्दिबासस्थित निवासतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परेका उनलाई अचेत अवस्थामा स्थानीय शुभस्वस्तिक अस्पताल पुर्याइएको थियो । अर्को मोटरसाइकलसँग ठोक्किएपछि घाइते भएका उनको दाहिने हातको बुढी औंला भाँचिएको र माथिको सात ओटा दाँतमा असर परेको बताइन्छ ।
चिकित्सकहरुले तत्काललाई तारको सहाराले दाँतहरू अड्याएको र चिउँडो तथा निधारको दाहिनेपट्टी भागमा गहिरो चोट लागेको चिकित्सकले जनाएका छन् । अस्पतालले उपचार शुल्क र औषधिसहित दुई लाख ५० हजार रूपैयाँको बिल थमाएपछि आफू डिस्चार्ज हुन नसकेको उनको भनाइ छ । उनले उपचार खर्च जुटाउन नसकेपछि दुई दिनदेखि बेडमै बस्नु परेको बताए ।
आफू दुर्घटनामा परेर अस्पताल भर्नाभएको सामाजिक सञ्जालबाट जानकारी गराएपनि पार्टीका कोहीपनि नेता भेट्न नआएको उनको गुनासो छ । ‘उपचार खर्च तिर्न नसकेर आफू अस्पतालमा बन्धक बन्नुपरेको केही नेतालाई जानकारी गराउँदा समेत बेवास्ता गरियो,’ उनले भने ।
श्रेष्ठलाई ठक्करदिने अर्को मोटरसाइकल चालक १६ वर्षे जयराम पासवान पनि सोही अस्पतालमा भर्ना छन् । उनको देब्रे हात भाँचिएको छ । माछा व्यापारी दिपक सहनीकोमा काम गर्दै आएका पासवानले श्रेष्ठलाई ठक्कर दिएको मोटरसाइकल साहु सहनीको नाममा छ । माछा बोकेर बर्दिबास बजार जाँदैगर्दा उनी दुर्घटनमा परेका हुन् ।
घाइते १६ वर्षे किशोरको सवारी चालक अनुमतिपत्र नभएको र मोटरसाइकल साहुले खर्च व्यहोर्न नसक्ने बताइसकेका छन् । श्रेष्ठले डिस्चार्जपछि कानुनी उपचारमा जाने बताए ।
२०५० सालदेखि एमालेको सदस्य रहेको बताउने उनी २०५७ सालदेखि गायनक्षेत्रमा लागेका हुन् । अञ्जु पन्त, प्रश्ना शाक्य, जुना प्रसाईंलगायतसँगै गाएका श्रेष्ठले झण्डै एक सय गीतमा स्वर दिएको बताउँछन् । जनसाँस्कतिक महासंघको महोत्तरी जिल्ला अध्यक्ष हुँदै मधेश प्रदेश इञ्चार्ज एवम् अध्यक्ष बनेका कलाकार श्रेष्ठले उपचार खर्चका लागी सहयोगको याचना गरेका छन् ।
दुई छोरीका पिता उनले आफ्नो नागरिकताको नाम निलमकुमार श्रेष्ठको नाममा खोलिएको सिटिजन्स बैंकको खाता नम्बर ०४००१०००००३३७०४६ मा आर्थिक सहयोगका लागि मनकारीसँग याचना गरेका छन् ।
टिप्पणीहरू