इँटा भट्टामा मान्छे पोल्ने काँग्रेस नेतालाई सफाइ
रौतहट नरसंहारका अभियुक्त नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमले अदालतबाट सफाइ पाएका छन् ।
जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले आलमलाई सफाइ दिएको हो । यसअघि जिल्ला अदालतले इँट्टाभट्टामा ज्युँदै मान्छे जलाएको अभियोगमा उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय तोकेको थियो ।
आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी जिउँदै मान्छेलाई इँटा भट्टामा पोलेर मारेको अभियोग छ । पहिलो संविधानसभाका बेला २०६४ फागुन २७ गते आलमको घर नजिक बम बनाउने क्रममा बिस्फोट हुँदा ८ जना घाइते भएका थिए ।
घाइते सबैलाई नजिकैको इँटाभट्टामा जलाएको अभियोगमा रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदालतको आदेशलाई २४ माघ २०७६ मा उच्च अदालत वीरगञ्जले सदर गरेको थियो ।
आलमले उच्च अदालतको उक्त आदेशलाई चुनौती दिँदै सर्वोच्चमा रिट निवेदन दिएका थिए । रिटमा थुनाबाहिर बसेर मुद्दा लड्न पाउँ भन्ने माग गरिएको थियो । तर, सर्वोच्चले थुनामुक्त गर्दा पीडितमाथि अपूरणीय क्षति हुने भन्दै आलमको माग अस्वीकार गरेको थियो ।
त्यसबीच गत वर्ष बैशाख १३ गते जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय तोकेको थियो । थुनाभित्रैबाट उच्च अदालतमा निवेदन दिएकोमा उनले आज उन्मुक्ति पाएका हुन् ।
टिप्पणीहरू