पूर्व मुख्यमन्त्रीको आम्दानी पौने करोड, लगानी दुई करोड

पूर्व मुख्यमन्त्रीको आम्दानी पौने करोड, लगानी दुई करोड

सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड रुपैयाँभन्दा बढी भ्रष्टाचारको आरोपसहित आज सोडारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । 

२०७४ को आमचुनावमा प्रदेश सभा सदस्य निर्वाचित भएदेखि ०७९ को चुनावसम्म सोडारीले पदीय हैसियतमा प्राप्त गर्ने पारिश्रमिक, भ्रमण भत्ता, बैंक ब्याज, कृषि आय, परिवारको पारिश्रमिक, समाजिक सुरक्षा भत्तालगायतबाट कुल ८५ लाख ५१ हजार आम्दानी हुने आयोगको ठहर छ । तर सो अवधिमा सोडारीले जग्गा खरिद, घर निर्माण, श्रीमती सञ्चालक रहेको मसला उद्योगमा लगानी, बीमा प्रिमियम भुक्तानी, छोरीको अध्ययन तथा छोराको बिहे खर्च, शेयर लगानी र विभिन्न बैंक खातामा रहेको नगद मौज्दात जोड्दा एक करोड ९३ लाख ८९ हजार खर्च गरेको आरोप पत्रमा उल्लेख छ । 

कुल आयको तुलनामा सोडारीले स्रोत नखुलेको एक करोड आठ लाख रकम आर्जन गरेको दाबी गर्दै आयोगले सोही बराबरको मागदाबीसमेत गरेको छ । सोडारीले सार्वजनिक पदमा रहँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) र (२), दफा १६ को उपदफा (२), दफा २४, दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिमको कसुर गरेकोमा निजको सम्पति जफत गरी कारबाही गर्नुपर्ने अख्तियारको पत्रमा उल्लेख छ ।

टिप्पणीहरू