रास्वपाको प्रस्तावमा विपक्षीको छलफल, संसद चल्न नदिने
दलालसँगको साँठगाँठमा अध्यागमनका कर्मचारीले भिजिट भिसामा विदेश जानेहरुबाट करोडौँ उठाएर खाएको प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानविन गर्न माग गर्दै संसद् अवरोध गरिरहेका विपक्षी दलले आज पनि निरन्तरता दिने भएका छन् ।
प्रतिनिधिसभा बैठकअघि बानेश्वरस्थित संसद भवनमा जुटेका माओवादी केन्द्रसहित विपक्षी दलले छानविन आयोग गठनको सुनिस्चितता नहुँदासम्म अवरोध कायम राख्ने निर्णय गरेका हुन् । छलफलमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, सहप्रवक्ता मनिष झा, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, आम जनता पार्टीका अध्यक्ष प्रभु साह लगाय सहभागी थिए ।
आजको बैठकमा रास्वपाले सत्तारुढ नेपाली कांग्रेससमक्ष गरेको प्रस्तावबारे छलफल भएको बताइएको छ । रास्वपाले जेठ २६ गते संसद्को गत्यावरोध अन्त्यका लागि कांग्रेससमक्ष पाँच बुँदे प्रस्ताव गरेको थियो । विपक्षी दलहरुले जेठ १३ गतेदेखि संसद् अवरोध गरिरहेका छन् ।
टिप्पणीहरू