क्याविनेटको निर्णय सुनाउँदै ‘झोले’को बखान

क्याविनेटको निर्णय सुनाउँदै ‘झोले’को बखान

सरकारको प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो पार्टी एमालेका कार्यकर्ताले झोले हुनुमा गर्व गर्नुपर्ने बताउनुभएको छ । एमालेको झोले हुनुमा आफूले पनि गर्व महशुस गरेको उहाँको भनाइ छ । 

आज मन्त्रालयमा क्याविनेटको निर्णय सुनाउँदै मन्त्री गुरुङले पार्टीमा धेरै छलफल र अध्ययनपछि ‘झोले’ शब्द प्रयोग गरेर अभियान चलाइएको बताउनुभयो ।

‘चलनचल्तीको भाषामा यो झोले भन्या कस्तो झोले रैछ भन्ने हुन्छ, झोल खानेलाई पनि झोले भनिन्छ, तर हामीले झोल खानेलाई झोले भन्या हैन’, उहाँले भन्नुभयो, ‘पार्टीभित्र पनि कतिपयले यो राम्रो शब्द भएन भन्ने होला, तर मिहिन छलफल गरेरै यसको सही अर्थ स्थापित गर्न झोले भनिएको हो, एमाले हुँ भन्नेले गर्वका साथ झोलेँ भन्न सक्नुपर्छ, म पनि एमालेको झोले भएकोमा गर्व महशुस गर्छु ।’

एमालेमा उपमहासचिवको जिम्मेवारीमा रहनुभएका गुरुङले पार्टीको झोलाभित्र कुनै व्यक्तिको भक्तिभाव नभएर दर्शन र सिद्धान्त भएको पनि बताउनुभयो ।

‘केपी ओलीको झोले भन्दियो भने फेरि गलत अर्थ लाग्छ, त्यसकारण त्यो झोलामा कसैको गुनगान र भक्तिभाव हैन, पार्टीको सिद्धान्त, विचार र दर्शन छ, एमाले कार्यकर्ताले त्यो झोला बोक्नैपर्छ’, उहाँले थप्नुभयो ।
 

टिप्पणीहरू