भिजिट भिसा प्रकरणमा अडान नछोडेको माओवादीको दाबी

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा आफ्नो पार्टीले अडान नछोडेको दाबी गरेका छन् ।
संसद्को चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजीका बीच प्रतिनिधिसभामा जारी बजेटमाथिको छलफलमा भाग लिँदै उनले त्यस्तो बताएका हुन् । आम जनताको भावना र सुझावलाई ध्यानमा राख्दै भिजिट भिसा प्रकरणमा उठेका विषयलाई सम्बोधन गर्ने सरकारको प्रतिवद्धतापछि आफूहरु सदन चलाउन तयार भएको पुनको भनाइ छ ।
त्यसक्रममा उनले पूर्व सभामुख तथा माओवादी नेता अग्निप्रसाद सापकोटाको केशसँग भिजिट भिसा प्रकरण साटेको भन्ने कुराको खण्डन गरे । सापकोटाको हकमा अदालतको पूर्णपाठ प्राप्त भइसकेपछि मात्रै पार्टीले आधिकारिक धारणा बनाउने बताउँदै उनले भिजिट भिसा प्रकरण फरक विषय भएको बताए ।
‘हामीले दुई बुँदे सहमति गरेपछि जसरी पूर्व सभामुखज्यूको मुद्दालाई भिजिट भिसासँग साटेको भनेर हल्ला फैलाइएको छ, त्यो गलत हो, त्यसमा कुनै सत्यता छैन’, पुनले भने, ‘हामी प्रमुख प्रतिपक्षी भएको हैसियतमा सरकारले छानविनको लागि प्रतिबद्धता जनाएको छ, बजेटको छलफल वर्षमा एकपटक मात्रै हुने हो, त्यसलाई फेरि नजरअन्दाज गर्न मिल्दैन, यो सबै कुरालाई मध्यनजर गरेर सहमति गरिएको हो ।’
पूर्व अर्थमन्त्रीसमेत रहेका उनले केहीदिन अघिसम्म संसदीय संघर्षमा सँगै रहेको रास्वपासँगको सहकार्यको स्मरण पनि गरेका छन् । रास्वपासहित विरोधमा रहेका अन्य विपक्षी दललाई पनि सहमतिमा ल्याएर सभा अघि बढाउने वातावरण तयार गर्न सभामुख देवराज घिमिरेको पुनले ध्यानाकर्षण गराए ।
‘उहाँहरु नयाँ हुनुहुन्छ, कतिपय संसदीय अभ्यासमा चुक हुनसक्छ, तर यसको मतलव यो होइन कि तेस्रो दल सहमत भइसक्यो, चौंथो दललाई जति पेल्दा पनि हुन्छ, सभामुख आफैँमा संसद्को अभिभावक हो, त्यसकारण बरु आजको कार्यसूची थाती राखेर उहाँहरुलाई पनि संवादबाट सहमतिमा ल्याउन प्रयास गर्नुहोस्’, उनले थपे ।
टिप्पणीहरू