जो नगरबधुको ओछ्यानमै भक्कानिए

जो नगरबधुको ओछ्यानमै भक्कानिए

‘म अब चुप लागेर बस्न सक्दिन । तीन सातादेखि हरेक दिन आफैँसित भन्न थालेको छु कि आज त सबै कुरा तिमीलाई भन्छु भन्छु । म आफैंलाई सोध्ने गर्छु– के मैले सबै कुरा तिमीलाई भनेँ ? यो पत्र पनि बोकेर हिँडिरहेको छु ताकि आज पनि केही भन्न सकिनँ वा अवसर पाइनँ भने तिमीलाई दिन सकुँ । मलाई लाग्छ, तिम्रो परिवारले गलत कुरो सोचेर बसेको छ ।

उनीहरूलाई लागेको हुनुपर्छ– म तिम्री दिदीसँग प्रेम गर्छु तर यो सत्य होइन । तिमीले लेखेको कथा मेरो दिमागमा ताजा छ किनभने त्यो पढेपछि मलाई विश्वास भयो कि डुब्लिटस्की (कथाको एक पात्र) को लागि सुखको सपना देख्नु अनुचित छ । प्रेमसम्बन्धी तिम्रो कल्पना अत्यधिक रुमानी छ । जोसँग तिमी प्रेम गर्नेछौ, ऊप्रति कहिल्यै इष्र्या गर्दिन । मलाई विश्वास छ, म तिमीबाट त्यही आनन्द प्राप्त गर्नेछु, जुन केटाकेटीबाट पाइने गर्दछ । हामी इभित्सीमा हुँदा लेखेको थिएँ– तिम्रो अनुहारले अत्यन्त स्पष्टसँग मेरो उमेरको याद दिलाउँछ अनि यो पनि पक्का हो कि तिमीलाई पाउन सम्भव छैन ।

...त्यसबेला र अहिले पनि झुट बोल्दै आइरहेको छु । त्यसबेला त रोकिन सक्थें, फेरि पनि एकान्तमा बसेर अध्ययनमा लीन हुन सक्थें तर अब त त्यसो गर्न पनि नसक्ने भइसकें । आजभोलि लाग्दैन, मैले तिम्रो परिवारमा समस्या पैदा गरिरहेको छु । तिमीसँग इमान्दार भएर सम्बन्ध बनाइरहेको छु । अब त म पछाडि फर्कन पनि सक्दिन । तिमी सोझी युवती हौ । तिमी एउटा हात छातीमा राखेर, भगवानलाई सम्झेर सोच र भन– म के गरुँ ? मेरो कुरोलाई हाँसेर नउडाऊ । सत्य कुरो बोल, के तिमी मेरी पत्नी बन्न चाहन्छ्यौ ? सोच, विचार गर अनि जवाफ देऊ । यदि कतै रत्तिभर शंका लागेमा प्रष्ट शब्दमा नाइँ भन । भगवानलाई साक्षी राखेर मेरो प्रस्तावमाथि ध्यान देऊ । तिम्रो अस्वीकार मेरोनिम्ति भयानक हुनेछ तर म त्यसका लागि तयार छु । त्यसलाई स्वीकार्ने शक्ति ममा छ । तर, जब म तिम्रो लोग्ने बन्ने छु, तिमी मलाई त्यति नै माया नगर, जति म तिमीलाई गर्नेछु ।’

‘म तिम्रो सुन्दरताबाट पहिलेदेखि नै मोहित छु, प्रेम गर्छु । तर आजभोलि तिम्रो त्योसित प्रेम गर्न थालेको छु जुन शास्वत र अनमोल छ, त्यो हो तिम्रो हृदय, तिम्रो आत्मा । सौन्दर्यलाई त एक घण्टामा महसुस गर्न सकिन्छ अनि प्रेम पनि, त्यसरी नै ऊसितको प्रेम क्षणभरमै टुटाउन पनि सकिन्छ तर आत्मासितको प्रेम ? आत्मालाई चिन्न समय लाग्छ ।मलाई विश्वास गर, यो पृथ्वीमा बिनापरिश्रम केही पाइन्न, यहाँसम्म कि प्रेम पनि, जुन सुन्दर र स्वाभाविक भावना हो । यसतो मूर्खतापूर्ण तुलना गरेकोमा मलाई माफ गर । समयको ख्याल नगरी, बिना शब्द उच्चारण संगीत सिर्जना गर्नु, भावनामा बगेर जोडले साइकल चलाएसरह मूर्ख व्यक्तिले जस्तो प्रेम गर्नु, जसबाट न स्वयंलाई न अरु कसैलाई साँचो अर्थको आनन्द मिल्छ ।

तर, संगीतको भावनामा स्वयंलाई समर्पण गर्न सबैभन्दा पहिला आफैलाई जोख्नुपर्ने हुन्छ, मिहिनेत गर्नुपर्ने हुन्छ, काम गरेर देखाउनु पर्ने हुन्छ । विश्वास गर्नु, जीवनमा त्यस्तो कुनै आनन्द हुँदैन जुन काम नगरी पाउन सकियोस् । मिहिनेत र अप्ठ्यारो जति जटिल हुन्छ, इनाम पनि त्यति नै धेरै मिल्दछ । र, हाम्रोसामु एउटा ठूलो काम छ– एकार्कालाई सम्झनु प्रेम र सम्मानलाई बनाइ राख्नु ।’

दुइटै पत्र १९ औं शताब्दीका सबैभन्दा सम्मानित साहित्यकारमध्ये एक लियो तोल्सटोयको हो । त्यो लेखक जसले ‘युद्ध र शान्ति’, ‘अन्ना करेनिना’ जस्तो साहित्य विश्वलाई दियो । यी उपन्यासलाई विश्वसाहित्यमा महान उपन्यासको रूपमा लिइन्छ । उनी लेखक मात्र होइन दार्शनिक पनि थिए । माथिको पहिलो पत्र पछि पत्नी बनेकी सोफियालाई लेखेका हुन् । बिहे गर्नु मात्र ६ दिनअघि भने दोस्रो पत्र प्रेमिका भ्यालेरिया आर्सेनेभलाई लेखेका थिए । पहिलो पत्र सन् १८६२ को सेप्टेम्बर १७ र दोश्रो सन् १८५६ को नोभेम्बर २ मा लेखिएको थियो । तोल्सटोय महान सर्जक थिए भन्नेमा कुनै विवाद छैन तर उनको निजी जीवन विवादमुक्त रहेन । पत्नी सोफियासँगको सम्बन्ध पनि सुमधुर थिएन, यसको बावजुद उनीहरू १३ सन्तानको आमाबुबा बने । ४८ वर्ष सँगै बिताए । तोल्सटोय सेक्सको मामिलामा आफू सधैं अतृप्त र असल व्यक्ति बन्न नसकेको गुनासो पोख्दै बस्थे । उनले यो कुरा विश्वप्रसिद्ध उपन्यास ‘आमा’ का श्रष्टा मैक्सिम गोर्कीलाई पनि भने । उनको भनाइ थियो– ‘मान्छे भूकम्प, महामारी, प्राणघातक रोग व्याधीबाट पनि बच्न सक्छ तर ‘बेडरुम’ को दुखान्त घटनाबाट बच्न भने गाह्रो हुँदोरहेछ ।’   

५६ वर्षको उमेरमा जुत्ता सिलाउने काम गरेका उनले आत्महत्याको कोशिस गर्दै साथीको उक्साहटमा लागेर पत्नी र छोराछोरीलाई सम्पतिबाट बेदखल गर्ने अक्षम्य भूल गर्न लागेका थिए । लोग्नेबाट वाक्कदिक्क बनेकी सोफिया पनि जीवनको उत्तरार्धमा पुरानो साथी तथा संगीतकार सर्गेइ तानायेभसँग नजिकिन पुगेकी थिइन् । उनको यो व्यवहारलाई लिएर तोल्सटोयले ‘बूढीको नखरा’ र ‘बोक्सीको आचरण’ भनी आलोचना गरेका छन् । उता, सोफियाले पनि चेर्तकोभसितको सम्बन्धलाई लिएर उनलाई समलिंगी भनी गाली गरिन् । यस्तै पारिवारिक झैझगडाकै कारण जीवनको अन्तिम समयमा घर छाडी रेलवे स्टेशनमा सुत्न थाले । त्यहीँ जाडोले कठ्यांग्रिएर ८२ वर्षको उमेरमा उनको निधन भयो । १७ वर्षकै उमेरमा तोल्सटोय वेश्यालय धाउन थालेका थिए । पहिलोपटक आफ्नै दाजु निकोलाइसँग गएका उनले वेश्यासितको पहिलो संसर्गपछि डायरीमा लेखे–‘सबै काम भ्याइसकेपछि वेश्याकै पलङमा बसेर खुब रोएँ ।’

वेश्यालय गएकोमा पछुतो माने पनि जान भने छाडेनन् । उनले डायरीमा लेखेका छन्– सामाजिक शत्रुलाई जत्तिकै महिलासँगको सम्बन्धलाई पन्छाउन गाह्रो हुँदो रहेछ । उनी जुवा पनि खेल्थे । दुइटी नोकर्नी गाशा र दुन्यासासित सम्बन्ध राखे । आफ्नै काकी अलेक्ज्याण्ड्रासँग पनि आशक्ति रह्यो । भूल गर्न पछि पछुतो मान्दै डायरीमा लेख्ने गर्थे । जवानीमा सबैबाट गल्ती हुने भए पनि मबाट समेत कसरी यस्तो गल्ती हुन पुग्यो, अहो ! भनेर उल्लेख गर्थे । 

भ्यालेरियासित सम्बन्ध जोडिँदा उनी २८ वर्षका थिए । भ्यालेरिया छिमेकीकी छोरी थिइन् । तोल्सटोय जन्मेको यास्नाया पोल्यानायाकी । पहिलो हेराइमै प्रेम गर्न पुगेका तोल्सटोयले उनको नाउँमा पत्र लेख्न थालेपछि प्रेम अझ बढी गहिरिन पुगेको थियो । त्यसबखत उनले निर्णय लिए कि आफ्नो प्रेमलाई जाँच्नु जरुरी छ । यसका लागि महिनौं पिटसबर्ग गई बसे । पत्रकै माध्यमबाट एकार्कालाई चिन्न र जान्न सकिन्छ भन्ने आशासहित । त्यसबेला तोल्सटोय र सोफियाको बिहे भइसकेको थिएन । उनीहरूको बिहे त सन् १८६२ मा मात्र भएको हो । सोफिया १६ वर्षले कान्छी थिइन् ।

तोल्सटोय र भ्यालेरियाको प्रेमसम्बन्धलाई तत्कालीन सामाजिक जीवनप्रतिको असन्तोषले कमजोर पा¥यो, किनभने भ्यालेरियाले त्यही सामाजिक जीवनमा जोड दिन थालेकी थिइन् जबकि तोल्सटोय त्यस विषयमा फरक धारणा राख्थे । उनले भ्यालेरियासितको बिहेको अर्थ आफ्नो मान्यताको बलि चढ्ने ठाने । अर्को कुरा, प्रेम जोख्ने नाउँमा प्रेमिकाबाट टाढा बस्ने आफ्नै निर्णयले विस्तारै उनमा भ्यालेरियाप्रति उदासिनता छाउन थाल्यो । यद्यपि, उनले प्रत्येक पत्रमा गहिरो प्रेम व्यक्त गर्थे । शुरुमा गहिरो प्रेममा डुबेका उनीहरु भावुक थिए । पछि विस्तारै नैराश्यता, शंका प्रकट गर्न थाले । ईष्र्यालु बने । एकार्कालाई उपदेश दिन थाले । अन्ततोगत्वा सम्बन्ध धराशयी बन्न पुग्यो । ​​​​​

तोल्स्टोयको जीवनी, साहित्यिक यात्रा, पत्नी सोफियासितको सम्बन्ध र जीवनको अन्तिम दिनको विषयमा जनआस्थाको ०६५ भदौ ११ गते, ०६८ मंसिर ७ गते र ०७० माघ १५ गतेको अंकमा लेख प्रकाशित छ ।
 

टिप्पणीहरू