विधेयकमा छेडखानी गरिए प्रचण्डले नसहने

विधेयकमा छेडखानी गरिए प्रचण्डले नसहने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिबाट पारित भएका विधेयकहरू तत्काल प्रतिनिधिसभामा पेश गर्नुपर्नेमा जोड दिनुभएको छ ।

समितिबाट पास भएर गएका विधेयकहरू फुल हाउसमा पेश हुँदा छाल्खेल र छेडखानी हुने गरेको भन्दै उहाँले चिन्तासमेत जनाउनुभयो । संघीय निजामती, शिक्षालगायत समितिबाट सर्वसम्मत पास भएका विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्न सरकारले आलटाल गरेको गुनासो भैरहँदा प्रचण्डको यस्तो प्रतिक्रिया आएको हो।

आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, “हामीले धेरै मेहनत गरेर सदनमा ल्याएका र समितिबाट सर्वसम्मत पारित गराएका विधेयकहरू कार्यसूचीबाट हटाउने प्रवृत्ति देखिएको छ। यस्तो चलखेल नहोस् भन्ने हाम्रो आग्रह हो ।”

अध्यक्ष प्रचण्डले समितिबाट सर्वसम्मत पारित भइसकेका केही विधेयकहरू प्रतिनिधिसभामा कार्यसूचीमा राखिए पनि अन्तिम समयमा हटाइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै त्यसो नगर्न गर्दै सरकारलाई चेतावनी दिनुभयो ।

संघीय निजामती सेवा विधेयक र विद्यालय शिक्षा विधेयक जस्ता महत्त्वपूर्ण विधेयकहरू कार्यान्वयनका लागि अत्यावश्यक भएको भन्दै उहाँले यसमा सरकार र समितिका सभापतिको ध्यानाकर्षण गराउनुभयो । थप्नुभयो, “संवेदनशील विधेयकहरू टारिनेतिर लागियो भने हामी चुप लाग्दैनौं ।”

अध्यक्ष प्रचण्डले प्रहरीसम्बन्धी विधेयकलाई समय सान्दर्भिक, व्यापक छलफल र अधिकतम परिमार्जनसहित पारित गर्नुपर्नेमा समेत जोड दिनुभयो । उहाँका अनुसार, विधेयक तयार पार्दा अघिल्ला बहसहरू, सरोकारवालाको राय र संघीयताको मर्मलाई मध्यनजर गरिनुपर्छ ।

“यो विधेयक ढिला भए पनि आएकोमा सरकारलाई धन्यवाद दिन्छु । तर अब यसको परिमार्जन र समुचित प्रक्रिया सुनिश्चित गरेर अघि बढाउनु आवश्यक छ,” उहाँले भन्नुभयो ।

संघीयताको प्रभावकारी कार्यान्वयनमा देखिएको अन्योल हटाउन कानुनी अधार निर्माणमा सबै दलले सहकार्य गर्नुपर्नेमा पनि प्रचण्डको जोड छ । बैठकमा सहभागी अन्य सांसदहरूले पनि समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरूमा अनावश्यक हस्तक्षप स्वीकार नहुने धारणा व्यक्त गरे ।

टिप्पणीहरू