अदालतको आदेशले क्रिप्टो कारोबारीलाई आनन्द
सांकेतिक तस्विर (AI)
चितवनमा एक जना क्रिप्टो कारोबारी पक्राऊ परेकोमा अदालतको आदेशले छुटेका छन् । अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबार गरेको अभियोगमा मुद्दा चलाइएका विशाल तिवारीलाई जिल्ला अदालतले एक लाख धरौटीमा रिहा गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीले असार ९ गते समसामयिक विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्रिप्टो करेन्सीको कारोबारमा एकजना पक्राउ गरेको जानकारी दिएका थिए । उनले भनेका थिए, ‘क्रिप्टो करेन्सीमा संलग्न एकजना मान्छेलाई हामीले अहिले मुद्दा चलाएर अनुसन्धान गर्यौँ । यसले के देखिन्छ भन्दा आर्थिक अपराधका जुन अहिलेका नयाँ ट्रेन्ड छन्, त्यो चितवनमा पनि सुरु भएछ ।’
गत जेठ २८ गते बेलुकी साढे सात बजेतिरको समयमा चितवनको मुग्लिन बजार नजिक शान्तिबजारस्थित सन्तोष भ्यु होटलबाट नवलरासी (बर्दघाट सुस्तापूर्व), कावासोतीका तिवारी क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा समातिएका थिए । शंकास्पद अवस्थामा फेला परेका उनको मोबाईल चेकजाँच गर्दा यूएसडीटी क्रिप्टो करेन्सी कारोबार गर्ने गरेको खुलेपछि अनुसन्धान अघि बढेको थियो ।
४१ वर्षीय तिवारीले बाइनान्स एकाउन्टको युजर आईडीबाट पटकपटक गरी नेपाली रुपैयाँको अभौतिक मुद्रा यूएसडीटी खरिद गरी कारोबार गरेको ट्रान्जेक्सन हिस्टोरी देखिन्छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनाल भन्छन्, ‘रकम थोरै भए पनि कारोबारचाहिँ क्रिप्टो करेन्सी नै हो ।’
प्रहरीले अनुसन्धान सकेर सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गरेको थियो । सोही दिन अदालतमा अभियोगपत्र दर्ता भएकोमा भोलिपल्ट मंगलबार तिवारी एक लाख धरौटीमा छुटेका हुन् ।
टिप्पणीहरू