अहमदावादको विमान दुर्घटना अरुलाई पाठ
दुई साताअघि छिमेकी मुलुक भारतमा भएको भयावह विमान दुर्घटनाले विश्व हवाई क्षेत्र अझै शोकमा छ । भारतीय उड्डयन इतिहासकै सबैभन्दा ठूलो उक्त विमान दुर्घटनामा एक यात्रुबाहेक सबै २४१ जनाले ज्यान गुमाएका छन् ।
जेठ २९ गते दिउँसो गुजरात प्रान्तको अहमदाबाद विमानस्थलबाट बेलायतका लागि एअर इन्डियाको ‘फ्लाइट १७१’ विमान उड्यो । तर, उडेको दुई मिनेटमै नजिकैको आवासीय क्षेत्रमा खस्दा यात्रुसँगै अन्य सर्वसाधारणले समेत अकालमै ज्यान गुमाउनुपर्यो । दुर्घटनामा एमबीबीएस अध्ययनरत विद्यार्थीसहित जमिन र भवनमा रहेका तीन दर्जन बढीले ज्यान गुमाएका छन् ।
विमान अहमदाबादस्थित बीजे मेडिकल कलेजको होस्टेल मेस रहेको भवनमा खसेको थियो । जहाँ एमबीबीएस अध्ययनरत विद्यार्थीहरुको क्यान्टिन थियो । विमान दुर्घटनाको कारण हालसम्म पत्ता लागेको छैन ।
भारतमा भएको उक्त विमान दुर्घटनाले समग्र विश्वको ध्यान तान्यो । यसबाट नेपालले समेत पाठ सिक्नुपर्ने देखिन्छ । मुलुकमा पछिल्लो समय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने लहड चलेको छ । तर, कुनै पनि विमानस्थल व्यवस्थित देखिँदैन ।
विश्वका अधिकांश मुलुकमा विमानस्थल सामान्यतया बस्तीभन्दा टाढा हुन्छ । दुर्घटना हुँदा ठूलो क्षति हुन नपाओस् भन्ने उद्देश्यले त्यस्तो व्यवस्था गरिएको हो । तर हाम्रोमा ठ्याक्कै उल्टो अवस्था छ । घना बस्ती भएकै ठाउँ र वरपर विमानस्थल छन् । यसबाट जोखिम बढेको छ भने विमान दुर्घटना हुँदा यात्रुसँगै जमिनका नागरिक वा बस्ती नै सखाप हुने खतरा उत्तिकै हुन्छ ।
भारतमा हालै भएको विमान दुर्घटनाले त्यसलाई पुष्टि गरेको छ । विमानस्थल बस्ती नजिकै भएको कारण दुर्घटनामा यात्रुबाहेक साढे तीन दर्जन विद्यार्थी तथा सर्वसाधारणले ज्यान गुमाएका हुन् ।
नेपालमा विगतमा भएका विमान दुर्घटनाले समेत केही संकेत दिएको थियो । २०६९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लातर्फ उडेको सीता एअरको विमान ६ मिनेटमै मनोहरा फाँटमा दुर्घटनाग्रस्त भयो । दुर्घटनामा १९ जनाले ज्यान गुमाए ।
२०७४ फागुन २८ गते बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको ‘युएस–बंगला एयरको फ्लाइट २११’ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै दुर्घटना भयो । जहाज अवतरण हुनुपर्ने बिन्दु नाघेर गलत कोणबाट अवतरण गर्दा दुर्घटना भएको थियो ।
दुर्घटनामा चालक दलका सदस्यसहित ५१ जनाले ज्यान गुमाए भने २० जना घाइते भएका थिए । पछिल्लो पटक ०८१ साउन ९ गते सौर्य एयरको जहाज पोखरा उड्ने क्रममा त्रिभुवन विमानस्थलभित्रै दुर्घटनामा पर्यो । जसमा १८ जनाको मृत्यु भयो । यी केही प्रतिनिधिमूलक घटना मात्रै हुन् ।
विमानस्थल वरपर बस्ती बाक्लिँदै गएको र भविष्यमा ठूलो दुर्घटना हुनसक्ने भन्दै विज्ञहरुले सुझाव दिन थालेको लामो समय भइसक्दा पनि सरकार र सम्बन्धित निकाय गम्भीर देखिँदैनन् । विमानस्थलभित्र र आसपास पटकपटक विमान दुर्घटना हुँदासमेत सरकारले न विमानस्थल वा बस्ती सार्न सकेको छ न हवाई सुरक्षा मापदण्डको पालना गर्नै सकेको छ ।
डिपो पनि एयरपोर्टमै, ‘असुरक्षित’ नेपाली आकाश
मुलुककै सबैभन्दा पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जोखिमको अखडा बन्दै गएको छ । विमानस्थल चारैतिरबाट उच्च जोखिममा छ । एकातिर एयरपोर्ट आसपास बाक्लिँदै गएको बस्ती, अर्कोतिर विमानस्थलभित्रै आयल निगमको हवाई इन्धन डिपो राखिएको छ ।
यसले हवाईसँगै मानवीय सुरक्षामासमेत जोखिम बढाएको छ । त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डविपरीत रहेको बताइन्छ । एयरपोर्टभित्र रहेको इन्धन भण्डारण डिपो, रनवे र ट्याक्सी वेबीचको दुरीले पनि मापदण्ड कायम गरेको पाईंदैन ।
अर्कोतर्फ, विमानस्थल शहरको मध्य भागमा अवस्थित छ । वरपर अग्ला संरचनासहितका घना बस्ती छन् । जसले निरन्तर जोखिम बढाइरहेको छ । विमान उड्दा वा अवतरण गर्ने क्रममा ती संरचनामा ठोक्किएर ठूलो जनधनको क्षति पुग्ने डर सँधै कायम हुने अवस्था छ ।
विमानस्थलभित्र रनवे छेउमै एक लाख ७३ हजार लिटर क्षमताको इन्धन भण्डार डिपो छ । हवाई इन्धनजस्तो अति प्रज्वलनशील पदार्थ एयरपोर्टभित्रै रनवेनजिकै त्यो पनि ठूलो मात्रामा भण्डारण गरिनु अति जोखिमपूर्व भएको हवाई सुरक्षा विज्ञहरु बताउँछन् ।
डिपोका कारण एयरपोर्टभित्रै ठूलो दुर्घटना हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै गत वर्ष सरकारले हवाई इन्धन डिपो सुरक्षित स्थानमा सार्ने निर्णय गरेको थियो । यता, विमानस्थलमा मापदण्डविपरीतका संरचना, भौगोलिक अवस्था, आधुनिक उपकरणको अभावजस्ता कारणले नेपाली आकाशलाई नै ‘असुरक्षित’ बनाएको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) ले नेपाली आकाशलाई असुरक्षित बताउँदै आएको छ भने युरोपेली युनियन (ईयू) ले नेपालको उड्डयन क्षेत्रलाई वर्षौदेखि कालोसूचीमा राखिरहेको छ । विश्वसामु नेपाली आकाश असुरक्षित भनेर प्रचार भइरहँदा सरकारले भने सुधारका निम्ति कुनै कदम चालेको पाइँदैन । सरकार अध्ययन समिति बनाउँछ, महिनौं लगाएर प्रतिवेदन बनाई समितिले बुझाउँछ तर त्यो कार्यान्वयन चाँहि गरिँदैन ।
उड्डयनका पूर्वहाकिम भन्छन्, ‘जोखिमको बीचमा विमानस्थल’
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्री शहर छेउमै विमानस्थल हुँदा जोखिम बढेको स्वीकार्छन् । यद्यपि, बढ्दो जनसंख्याका कारण खाली ठाउँमा विमानस्थल सार्न गाह्रो हुने भएकाले अबको बाटो जहाज र पाइलटलाई प्रमुख प्राथमिकतामा राख्नु उनको सुझाव छ ।
अगाडि भने, ‘एयरपोर्ट आसपास घना बस्ती हुँदा जोखिम त बढेकै छ । तर, जनसंख्या थपघट हुनु नियमित प्रक्रिया हो । केहीगरी विमानस्थल अन्त खाली ठाउँमा सारिएपनि त्यहाँसमेत बस्ती बस्न सक्छ । फेरि खाली ठाउँ कतै छैन । त्यसैले, विमानस्थल सार्नुभन्दा पनि जहाज र पाइलटमा जोड्न दिन आवश्यक छ ।’
विमानको नियमित चेकजाँच र पाइलटको क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने उनको भनाइ छ । क्षेत्रीले एयरपोर्टभित्र रहेको हवाई इन्धन डिपो भने सार्न आवश्यक रहेको बताए । केही गरी त्यसमा विमान ठोक्किएमा ठूलो जनधनको क्षति हुनसक्ने भन्दै उनले थपे, ‘यो सार्ने काममा ढिलाई गर्नुहुँदैन ।’
डिपो सार्न तीन वर्ष, विमानस्थल कहिले ?
नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हवाई इन्धन डिपो सार्न अझै तीन वर्ष लाग्ने जनाएको छ । गुह्ेश्वरी नजिकै डिपो सार्ने सहमति भएपनि जग्गा प्राप्ति र डिपीआर बनाउने काम भइरहेको प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले जानकारी दिए ।
उनी भन्छन्, ‘त्यहाँको जग्गा अधिग्रहण र डिपीआर तयार पार्ने काम भइरहेको छ । डिपीआर तयार पारेपछि निर्माण काम शुरु गरिनेछ । यी सबैमा तीन वर्ष लाग्ने हाम्रो अनुमान छ ।’ प्राधिकरणले डिपो सार्ने प्रक्रिया अघि बढाए पनि विमानस्थललाई व्यवस्थित बनाउने वा सार्नेबारे भने छलफससमेत गरेको छैन ।
यसबारे प्रवक्ता थप्छन्, ‘विमानस्थल धेरै पहिला बनाइएको हो । त्यो बेलाभन्दा अहिले जनसंख्यामा बढोत्तरी भइसक्यो । पहिला एयरपोर्टभन्दा टाढासम्म बस्ती थिएन । अहिले सबैतिरबाट घेरिएको छ । हुनसक्ने सम्भावित दुर्घटना र क्षतिलाई हामीले अध्ययन गरिरहेका छौं । तर, विमानस्थल सार्ने विषयमा चाँहि छलफल भएको छैन ।’
टिप्पणीहरू