राजावादीहरूको इज्जत धान्दै चबरा

राजावादीहरूको इज्जत धान्दै चबरा

निर्णयक भनिएको आन्दोलन तुहिएसँगै असार लागेयता काठमाडौँमा राजावादी चहल पहल हराएको छ ।

गणतन्त्र दिवसको रणनीतिक दिन पारेर राजावादीहरुले जेठ १५ गतेदेखि 'निर्णायक आन्दोलन' शुरु गरेका थिए । नवराज सुवेदीको समितिले राजा नफर्किंदासम्म आन्दोलन नरोकिने घोषणा गरेको थियो । तर, लाखौँ जनता सडकमा उतारेर व्यवस्था उल्ट्याउने भनिएको आन्दोलन पाँच दिन पनि टिकेन ।

१५ गते शान्तिवाटिकामा भएको प्रदर्शनमा ५ हजार मान्छे जम्मा भएकोमा दोस्रो दिन घटेर १५ सय हुँदै पाँचौं दिन केही सयको हाराहारीमा पुगेपछि आन्दोलन स्वत: तुहिएको हो । जेठ २० गते स्थगित आन्दोलन फेरि कहिले भन्ने ठेगान छैन ।

राजेन्द्र लिङ्गदेनहरुले बर्खाका कारण आन्दोलन रोकिएको दाबी गरेका छन् । बर्खालाई बहाना बनाएर नेतृत्वले मैदान छोडेको भन्दै कार्यकर्तापंति भने असन्तुष्ट देखिन्छ ।

राप्रपा, राप्रपा नेपालजस्ता ठूला संगठन ब्याक भएसँगै अलपत्र परेको राजावादी आन्दोलन धान्न एउटा समूह भने अहिले पनि सडकमै छ । लामो समयदेखि हिन्दुत्व र राजसंस्थाको पक्षमा वकालत गर्दै आएको 'राष्ट्रवादी नागरिक समाज'ले राजावादीहरुको इज्जत धानिदिएको हो ।

यो समूहले आज रत्नपार्कस्थित शान्तिवाटिकामा प्रदर्शन गरेको छ । 'राजा आऊ देश बचाऊ' को ब्यानर र राष्ट्रिय झण्डासहित समाजका संयाेजक चन्द्र बहादुर रामदाम (चबरा) को नेतृत्वमा भएको प्रदर्शनमा समाजका महासचिव ध्रुवबहादुर गुरुङ, सचिव ज्ञानबहादुर थिङ, सदस्य हरिलाल गिरीसहित डेढ दर्जन सहभागी थिए ।

ठूलो र प्रभावकारी शक्ति नभए पनि राजतन्त्रको पक्षमा निरन्तर सडक संघर्ष गर्दै आएको यो समूहले जेठ ३० गते लगनखेलमा कोणसभा गरेको थियो ।

टिप्पणीहरू