रोपाईंको चटारोमा आँखा शिविरमा बिरामीको ओइरो
रोपाईंको मेलो धमाधम चल्दैछ । असार १५ को झरिलो बिहान । एकतिर धान दिवसको राष्ट्रिय उत्सव अर्कोतिर दही चिउरा खाने नयाँ पर्व । यी सबै चटारो र हतारोलाई छाडेर सिन्धुपाल्चोक, जलबीरेका स्थानीयहरु स्वास्थ्य केन्द्र बलेफीमा ओइरिए ।
धान रोप्ने चटारोभन्दा पनि आँखा परीक्षण गर्ने हतारोमा स्थानीयहरु देखिन्थे । नदेखोस पनि कसरी ? आँखा जो जीवनको नै सम्पूर्णता हो । यही आँखाको स्वाथ्यमा नै गडबड भयो भने सारा संसार नै अन्धकार हुने निश्चित छ । त्यसैले उनीहरु सबैथोक थाँती राखेर आँखा परीक्षण गर्न हतारिएका हुन् ।
आँखा स्वास्थ्य चेकजाच तथा परीक्षण सम्बन्धी सेवा प्रवाह गर्ने हेतुले निःशुल्क स्क्रीनिङ तथा शल्यक्रिया शिविर आयोजनाको चाँजोपाँजो मिलाएको थियो जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले। समन्वयको भूमिकामा थियो बलेफी गाउँपालिका, सिन्धुपाल्चोक ।
जलबीरे गाउँपालिकाका बासिन्दामध्ये आठ सय ४६ जना सेवाग्राहीले आँखाको स्क्रिनिङ सेवा लिइरहँदा छिमेकी तर विकट गाउँपालिका जुगलका स्थानीयले पनि मौकाको फाइदा नउठाउने कुरै भएन । त्यसैले त यो झरिलो मौसममा पनि वर्षाको कुनै प्रवाह नगरिक याङ्लाकोट र हगामबाट २२८ जना सेवाग्राहीले आँखाको स्क्रिनिङ गराए ।
तीमध्ये बलेफीका ४४ र जुगलको ११ जना गरि कूल ५५ जनाको मोतियाविन्दुको शल्यक्रिया पनि हुँदैछ । गाउँपालिकाको सबै वडा र जुगल गाउँपालिकाको २ वटा वडामा यसअघि नै स्क्रीनिङ शिविर सम्पन्न भइसकेकाले यो संख्या बढ्नसक्ने जनस्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाइँले जानकारी दिए ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका आँखा विशेषज्ञको टोलीले सेवा दिएको शिविरमा मोतियाविन्दुको शल्यक्रिया भोलिसम्म सञ्चालन हुने बताइएको छ ।
टिप्पणीहरू