रक्सी धोकेपछि काका पनि राक्षस

अत्यधिक रक्सीको लत कति घातक हुन्छ भन्ने मोरङको धनपालथान गाउँपालिका-५, रंगपुरमा भएको छ ।
शनिबार बिहानको कारुणिक घटनाले उक्त घातक परिणामलाई प्रष्ट पारेको छ । घरमा ठूला मान्छे नभएको बेला अभिभावक बनेर शुक्रबार राति घर कुर्न आएका २२ वर्षे अनिष सहोदर काकाले रक्सीको नशामा ७ वर्षीया भतिजीको बलात्कारपछि हत्या गरेका हुन् ।
अनिषले आफुसँगै सुतेकी दाजु अक्षय सरदारकी नाबालिका छोरी आत्तिका सरदारलाई निर्मम बलात्कार गरेर हत्या गरेका हुन् । शवलाई घरबाट एक सय मिटर पर लगेर खेतमा फालिदिएका थिए । प्रहरीले रक्सीको नशामा अक्षम्य अपराध गरेका काका अनिषलाई पक्राउ गरेर हाडनाता करणी र कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गराइसकेको छ ।
राक्षसरुपी काकाले पनि आफूले रक्सीको नशामा कुकर्म गरेको स्वीकारिसकेका छन् । प्रहरीका अनुसार बालिकाको बाबु वैदेशिक रोजगारमा छन् । गत शुक्रबार आमा पनि सात वर्षकी छोरीलाई हजुरआमासँग छाडेर माइत गएकी थिइन् । हजुर आमा बाहिर सुत्न गएर काकालाई पठाएपछि बालिकाको जिम्मा काकाको थियो ।
काकासँगै सुतेकी अत्तिका ओछयानबाटै हराएपछि आफन्त र गाउँलेहरुले खोजी गर्दा बिहान उनको शव एकसय मिटर परको स्कुल नजिकैको बाटोमा फेला परेको हो । घटनापछि मोरङका एसपी चिमोरिया आफैं फरेन्सिक विज्ञ साथमा लिएर घटनास्थल पुगेका थिए । प्रहरी अनुसन्धानबाट बलात्कारपछि नाबालिकाको हत्या भएको पुष्टि भएको हो ।
आफनै काकाले नाबालिका भतिजीको बलात्कारपछि हत्या गरेको घटनाले सिँगो रंगपुर गाउँका स्थानीय आक्रोशित र शोकाकुल देखिन्छन् । उनीहरुले अनिषमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।
टिप्पणीहरू