महिला एसियन कप छनोट : आज नेपाल र श्रीलंका भिड्दै

महिला एसियन कप छनोट : आज नेपाल र श्रीलंका भिड्दै

एएफसी महिला एसियन कप छनोट अन्तर्गत आज हुने समूहचरणको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । उज्वेकिस्तानमा हुने खेल नेपाली समय अनुसार बेलुकी ६:१५ बजे शुरु हुनेछ । 

नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा लाओसमाथि ९-० गोलको फराकिलो जित निकालेको नेपाल आजपनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ । नेपाललाई समूह विजेता बन्न सबै खेल जित्न आवश्यक रहेको छ । 
नेपालले आफ्नो अन्तिम खेलमा उज्वेकिस्तानको सामना गर्नेछ । अन्य टोलीको तुलनामा उज्वेकिस्तान नेपालको लागि निकै बलियो टोली हो । उज्वेकिस्तानले आफ्नो पहिलो खेलमा श्रीलंकालाई १०-० गोलले हराएको थियो । 

नेपाल र श्रीलंकाबीच भएको ८ भेटमा सबै खेलमा नेपालले बाजी मारेको छ । त्यसैले श्रीलंका आज छनोटमा पहिलो र नेपालविरुद्ध एतिहासिक जित निकाल्ने लक्ष्यमा रहेको छ । आजको खेलमा नेपालका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले कस्तो टोली उतार्नेछन् भन्ने फेरी एकपटक चर्चाको विषय बनेको छ । पछिल्लो समय नेपालको पहिलो रोजाईमा पर्दै आएकी गोलरक्षक तथा कप्तान एन्जिला तुम्बापो सुब्बालाई वाइल्डले बेन्चमा राखेका थिए । उनको अनुपस्थितिमा फरवार्ड सावित्रा भण्डारीले नेपालको कप्तानी सम्हालेकी थिइन् । यससँगै सावित्रा महिला टोलीको ११ औँ कप्तान बनेकी थिइन् । त्यस्तै प्रशिक्षकले अमृता जैशी, पुजा राना, प्रिती राई र रेखा पौडेल लगायतका खेलाडीलाई बेन्चमा राख्दै दोस्रो हाफमा मैदान उतारेका थिए । 

नेपाललाई आगामी वर्ष अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कप खेल्न समूह विजेता बन्नु पर्नेछ । अहिलेसम्म आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापानले प्रतियोगिताको लागि आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । अब ८ टोलीको टुंगो लाग्न बाँकी रहेको छ । कुल १२ टोली एसियन कपको मुख्य प्रतियोगितामा सहभागी हुनेछन् ।

टिप्पणीहरू