फूलहरु

मैले फूलहरु चुँडिन
निहत्था
मैले फूलहरु चुमेँ
लाल रंगमा ।
सगरमाथाको फेदीबाट
मुक्ति गीत गाउँदै
फूलहरुले अभिवादन गरे
मैले विगुल बजाएँ ।
कठोर यात्रा
सावधानी
फूलहरुले संकेत गरे
क्षितिज खुल्नु पर्छ
बादल च्यातिएर
गोधुली खस्नु पर्छ
योद्धाहरुको पदचापमा समाहित भएर
शुभ साँझ
पुनः फूलहरुले अभिवादन गरे
मैले विगुल बजाएँ ।
फूलले आह्वान गरे
गीत गुञ्जनु पर्छ
भाखाहरु नबिगार्नु
स्वरहरु उराल्नु
बस्ति ब्यूँझनु पर्छ
एक, दुई तीन
योद्धाहरुले पाइताला मिलाए
अभिवादन
फूलहरु मुस्कुराए
लाल रंगमा पुनः एक पटक ।
योद्धाहरुले मुठ्ठी उठाई
यात्रा आरम्भ गरे
शुभयात्रा
फूलहरुले बिदाइ गरे
मैले विगुल बजाएँ ।
टिप्पणीहरू