आलमलाई चोख्याउने फैसलाविरुद्ध अर्को साता पुनरावेदन दर्ता गरिने

आलमलाई चोख्याउने फैसलाविरुद्ध अर्को साता पुनरावेदन दर्ता गरिने

रौतहट नरसंहारका अभियुक्त नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय अर्को साता सर्वोच्च अदालत जाने भएको छ । कार्यालयले  फैसलाविरुद्ध पुनरावेदन गर्ने निर्णय गरेको हो ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सहन्यायाधिवक्ता सूर्यराज दाहालले अबको एकाध दिनमै सर्वोच्चमा पुनरावेदन दर्ता गरिने बताए । उनका अनुसार उच्च सरकारी वकिल कार्यालय, वीरगञ्जले पुनरावेदन पत्रको मस्यौदा तयार पारेर पठाइसकेको छ । सोहीअनुसार कार्यालयले पुनरावेदन गर्ने निर्णय पनि गरिसकेको उनले जानकारी दिए। 

‘कार्यालयले मस्यौदा तयार पारिसकेको छ । यहाँबाट पुनरावेदन दर्ताको निर्णय भइसकेको छ । अबको एकाध दिनमै दर्ता गर्छौं’,उनले भने । उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीशद्धय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले गत जेठ १४ गते उनलाई सफाइ दिएको थियो । त्यसअघि रौतहट जिल्ला अदालतले इँट्टाभट्टामा ज्युँदै मान्छे जलाएको अभियोगमा उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय तोकेको थियो । 

उनलाई सफाइ दिने न्यायाधीशद्धयलाई न्याय परिषद्मा तानेर छानबिन अगाडि बढाइएको छ ।

टिप्पणीहरू