कालीगण्डकी करिडोर एकतर्फी सञ्चालन
नेपाललाई भारत र चीनसँग जोड्ने कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा आएको छ ।
गएरातिदेखिको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरल्वामा खसेको पहिरोले पूर्णरुपमा अवरुद्ध भएको करिडोर एकतर्फी सञ्चालनमा ल्याइएको हो ।
करिडोर निर्माण गरिरहेको कालिका कन्स्ट्रक्सन र प्रहरीले संयुक्त रुपमा पहिरो हटाइरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले बताए । जनआस्थासँग उनले भने,‘गएरातिदेखि भएको वर्षाका कारण गएको पहिरोले करिडोर पूर्ण रुपमा अवरुद्ध बनेको थियो । हाल एकतर्फी सुचारु भएको छ । पहिरो हटाउने काम भइरहेको छ ।’
सो करिडोरमा पटकपटक पहिरो जाने गरेको छ । गत असार ४ गते सोही गाउँपालिकाको वडा नम्बर–१ स्थित हर्मीचौर–अर्बेनी सडकअन्तर्गत गरगरेमा गएको सुख्खा पहिरोले करिडोर पूर्ण रुपमा अवरुद्ध बनेको थियो, जसका कारण आधा दर्जन मालवाहक सवारी साधन बीच बाटोमै रोकिएका थिए ।
त्यसअघि असार २ गते वडा नम्बर १ मा खसेको पहिरोले सडक ठप्प बनेको थियो ।
टिप्पणीहरू