विद्यादेवी भण्डारीका भावी चुनौतीहरू
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको प्रारम्भिक राजनीतिक सक्रियता अहिले दलगत सक्रियतामा रूपान्तरित भएको छ। यो रूपान्तरणसँगै राजनीतिक वृत्तमा धेरै तरंगहरू उत्पन्न भएका छन्। ‘मदनको नीति : विद्याको नेतृत्व’ लेखिएको ब्यानर सार्वजनिक भएको घटनाले ओली वृत्तको मन कति आहत भएको होला भन्ने कुरा बुझ्न निधार खुम्च्याउनु पर्दैन।
उनको यो राजनीतिक पुनरागमनलाई लिएर ठीक र बेठीकका तर्कवितर्कहरू चलिरहेका छन्। पक्ष र विपक्षमा मतहरू अभिव्यक्त भइरहेका छन्। यस घटनाले एकैपटक धेरै प्रश्नहरू उठाएका छन्। राष्ट्रपति पदजस्तो सर्वोच्च र सम्मानजनक पदबाट निवृत्त भएर दलगत राजनीतिमा आउनु हुँदैन भन्ने धारणा एकातिर छ भने, दलगत राजनीतिमा आउन कानुनले निषेध नगरेको अवस्थामा यसलाई स्वाभाविक मान्नुपर्छ भन्ने अर्को धारणा पनि देखिन्छ।
नेपालको राजनीतिक वृत्तका अन्य गतिविधिमा पनि खासै नैतिकता देखिएको छैन भन्ने सन्दर्भमा विद्यादेवी भण्डारीको यो कदम त्यस्तै एउटा थप घटना मात्र हो भन्ने मत पनि देखिन्छ। जुनसुकै तर्कका आधारमा भए पनि भण्डारीविरुद्ध प्रकट हुने मतले प्रत्यक्ष वा परोक्ष रूपमा केपी ओलीको एमालेभित्रको वर्चस्वलाई बल दिइरहेको देखिन्छ भने, भण्डारीको पक्षमा देखिने मतले ओलीविरुद्ध पार्टीभित्र मौन रूपमा भइरहेका ध्रुवीकरणलाई थप ऊर्जा दिइरहेको छ।
पार्टीभित्र र गठबन्धन सरकारमा पनि ओलीको हैकमवादी शैलीबाट आजित, राजनीतिक रूपमा निष्क्रिय रहेका, तर कुनै दलगत सक्रियता नरहेका समूहले भण्डारीको पुनरागमनलाई असल राजनीतिक संस्कृति विकास नहुने भनिए पनि ओलीको तुजुक थोरै भए पनि घट्ला भन्ने आशाले समर्थन नगरी मौनता रोजेको देखिन्छ।
भण्डारीको यो दलगत सक्रियताले अहिले नै एमालेभित्र ओलीविरुद्ध निर्णायक परिणाम ल्याउँछ जस्तो लाग्दैन। तर, एमालेको आन्तरिक राजनीतिमा सुस्त गतिमा ध्रुवीकरण सिर्जना गर्दै जान सक्छ र ओलीका गतिविधिबाट निराश भएका कार्यकर्ताहरूलाई अलिकति भए पनि विश्रामको चौतारी प्रदान गर्नेछ।
भण्डारीको पुनरागमनबाट वामपन्थी दलबीच एकता हुने सम्भावनालाई कतिपय विश्लेषकहरूले उल्लेख गरेका छन्। एमालेबाट विभाजित भई बनेको नेकपा (समाजवादी) का केही नेता–कार्यकर्ताहरू विद्या भण्डारीको पुनरागमनबाट एमालेमा फर्किन सहज हुने अनुमान गरिरहेका छन्। यत्तिकैमा माधव नेपालमाथि भ्रष्टाचार मुद्दा चलेको सन्दर्भ र त्यो मुद्दाबाट सफाइ पाउने सम्भावना क्षीण देखिएको अवस्थामा समाजवादीका केही नेता–कार्यकर्तामा एमाले फर्कने हुटहुटी पनि देखिएको छ।
एमाले वृत्तबाहिरका केही राजनीतिक व्यक्तित्वहरूसँग भण्डारीका सार्वजनिक तथा गोप्य भेटघाटहरूले पनि त्यो भाष्यलाई पुष्टि गरेका छन्। यद्यपि उनको सन्तुलित व्यवहार, कार्यकुशलता र दूरदर्शिताले राम्रो काम गर्न सक्ने भए पनि एमालेको नेतृत्वमा स्थापित हुन उनले समय खर्चनै पर्नेछ।
ओलीको एकाधिकारवादी प्रभाव पार्टीको तल्लो तहसम्म व्याप्त भइसकेको अवस्थामा त्यो प्रभाव हटाउन सक्नु भन्ने जति सजिलो छ, गर्न त्यति सजिलो छैन। भण्डारीले आफ्नो नेतृत्वदायी योजना अगाडि सार्दा उनलाई पाइलैपिच्छे ओलीको प्रताडना सहनुपर्नेछ। उनको समर्थनमा देखिनेहरूले पनि विभिन्न किसिमका कारबाहीको सामना गर्नु पर्नेछ।
यो राजनीतिक यात्राले ओलीको अहंकारमा ठूलो चोट पुर्यााउने भएकाले उनका प्रतिक्रियात्मक रणनीतिहरूले पार्टीलाई अझ गहिरो रूपमा विभाजित गर्दै लैजानेछन्। यसको मुख्य प्रभाव आगामी निर्वाचनहरूमा देखिनेछ। चुनावको बेला सतहमा आउने घात–प्रतिघातहरूले एमालेलाई हुने क्षतिले ओली र उनका समर्थकहरूलाई झस्काउनेछ।
त्यो बेलासम्म भण्डारीले आफूलाई सन्तुलित ढंगले प्रस्तुत गर्न सकेमा ओलीपक्षीय समूह पनि उनलाई नेतृत्व सुम्पन बाध्य हुन सक्छ। भण्डारीको कार्यदक्षता बुझेकाहरू अहिले नै उनलाई ओलीको विकल्पका रूपमा पूर्ण रूपमा स्वीकार गर्न नसके पनि पार्टीभित्र लोकतान्त्रिक अभ्यास बलियो बनाउने काममा सक्षम ठानिरहेका छन्।
यद्यपि भण्डारीलाई ओलीभन्दा भिन्न कार्यशैली भएको नेतृको रूपमा स्थापित गर्न सजिलो छैन, किनभने उनी राष्ट्रपति हुँदा ओलीका हरेक कदमलाई बिना शर्त समर्थन गर्ने भूमिका निर्वाह गरिसकेकी छिन्। ओली र भण्डारीको राजनीतिक लक्ष्यमा धेरै भिन्नता नदेखिए पनि भण्डारीको नेतृत्वले ओलीको हैकमवादमा केही कमी ल्याउने आशा गर्न सकिन्छ।तर, भण्डारीमा परिवर्तनको स्पष्ट सोच र एजेन्डा अहिलेसम्म देखिएको छैन। मदन भण्डारीको विरासतले मात्र उनलाई सत्तामा टिकाइराख्न सक्दैन। उनले अन्य दलहरूसँग प्रतिस्पर्धा गर्ने क्षमता पनि देखाउनुपर्नेछ।
ओलीको हैकमवादी शैलीमा अभ्यस्त एमाले कार्यकर्ताहरूलाई सन्तुष्ट तुल्याउन भण्डारीलाई निकै सकस पर्नेछ। एमालेले बोकेको राजनीतिक विचारलाई खोपीको देउता बनाएर थन्क्याउने र नवसामन्तवादी चरित्र प्रदर्शन गर्ने नेताहरूको शैली परिवर्तन गर्न भण्डारीलाई गम्भीर प्रयास गर्नुपर्नेछ।
एमालेजनभित्र लामो समयदेखि संचित भएको अवसर र सुविधाको वितरणमा देखिएको पक्षपातले असन्तुष्ट बनेको कार्यकर्ताको ठूलो तप्का छ। तीमध्ये धेरैले ओली प्रवृत्तिको खुलेर विरोध गर्न नसके पनि नेतृत्व परिवर्तन भएमा खुशी हुने छन्। तर, उनीहरूको पहिचान गरी पार्टीको मूलधारमा ल्याउने कार्य कुशलता नयाँ नेतृत्वमा हुनु आवश्यक छ।
यी वस्तुगत यथार्थहरू एकातिर छन् भने अर्कोतिर, अहिले नेतृत्वको मूलधारमा रहेका नेताहरूको प्रतिस्थापनबाट कार्यकर्ताको मनस्थिति फेरिए पनि नयाँ नेतृत्वले ठाउँ नलिएसम्म जनताले एमालेप्रति विश्वास गर्न सक्ने अवस्था छैन। वर्तमान आवश्यकता भनेको जनताका तत्कालीन समस्याहरू समाधान गर्ने सोच, साहस र निष्ठा भएको नयाँ नेतृत्वले मुलुकको नेतृत्व लिनु हो।
टिप्पणीहरू