केरुङ्गमा रोकिएकालाई तातोपानी नाकाबाट स्वदेश फर्काइँदै

केरुङ्गमा रोकिएकालाई तातोपानी नाकाबाट स्वदेश फर्काइँदै

नेपाललाई चीनसँग जोड्ने रसुवास्थित नाकामा रहेको ‘मितेरी पुल’ बाढीले बगाउँदा केरुङ्गमा रोकिएका नेपाली नागरिकलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ । सिन्धुपाल्चोकको तातोपानी नाकाको प्रयोग गरेर चिनियाँ पक्षले नेपालीलाई स्वदेश फर्काउन लागेको हो । 

उनीहरुलाई फर्काउनका लागि सरकारको तर्फबाट हुनुपर्ने सम्पूर्ण काम भइसकेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए । ‘नेपाली पक्षले चिनियाँ पक्षलाई पत्राचारलगायत सबै काम गरिसकेको छ । हिजो बेलुका उनीहरुलाई सिन्धुपाल्चोकको तातोपानी नाकाबाट फर्काउने जानकारी प्राप्त भएको छ । हाल फर्किन चाहनेहरुको विवरण संकलनको काम भइरहेको छ’,उनले भने । 

केरुङ्गमा रोकिएकाहरुलाई चिनियाँ सरकारले नै खाने–बस्ने व्यवस्था गरिरहेको पनि उनले बताए । गत असार २४ गते बिहानैदेखि भोटेकोशी र स्थानीय ल्हेन्दे खोलामा आएको भीषण बाढीले रसुवागढी, टिमुरेस्थित भन्सार क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो । 

बाढीले चीन जोड्ने मितेरी पुलसहित भन्सार क्षेत्रमा राखिएका विद्युतीय गाडी र कन्टेनरहरुसमेत बगाएको हो । सो बाढीमा प्रहरीसहित नेपाली र चिनियाँ नागरिक बेपत्ता भएका थिए ।

टिप्पणीहरू