वित्त आयोगका सदस्यद्धारा राजीनामा

वित्त आयोगका सदस्यद्धारा राजीनामा

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रले पदबाट राजीनामा दिएका छन् । उनले आज राष्ट्रपतिको कार्यालयमा राजीनामा पत्र बुझाएका हुन् । उनको राजीनामा दर्ता भइसकेको कार्यालय स्रोतले बताएको छ । 

स्रोतका अनुसार उनले कार्यालय खुल्नेबित्तिकै उपस्थित भएर पत्र दर्ता गरेका हुन् । ‘उहाँ आज कार्यालय खुल्नेबित्तिकै राजीनामा पत्र लिएर आउनुभएको थियो । त्यो दर्ता भइसकेको छ’,स्रोतले भन्यो । मिश्रले राजीनामा दिनुको कारण आयोगमा भएको बेतिथि उल्लेख गरेका छन् । 

आयोगमा भएको अनियमितता, अन्य पदाधिकारीहरुको मनोमानी, तथ्याङ्कमा भएको छेडखानीलगायतका कारणले राजीनामा दिनुपरेको पत्रमा उल्लेख छ । सदस्य मिश्र तिनै पदाधिकारी हुन्, जो आयोगका अन्य पदाधिकारीविरुद्ध अदालत पुगेका थिए । 

बहुमतको आधारमा आयोगका तीन पदाधिकारीले कार्यविधि कुल्चिएर जथाभावी निर्णय गरेको भन्दै उनले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, आयोगका तत्कालीन अध्यक्ष बालानन्द पौडेल, सदस्यद्धय जुद्धबहादुर गुरुङ्ग, विपिनराज निरौला, तत्कालीन सचिव कृष्णबहादुर राउतलाई विपक्षी बनाइएको छ । 

यता, अध्यक्ष पौडेल आफ्नो ६ वर्षे कार्यकाल पुरा गरेर अवकासमा गएपछि उनी पनि आफ्नो क्याबिन खाली गराएर हिँडेका थिए । तर, राजीनामा दिन भने बाँकी थियो । कार्यालयको सहसचिव शैलजा रेग्मी भट्टराईले भने उनको राजीनामाबारे जानकारी नभएको बताइन् । जनआस्थासँग उनले भनिन्,‘राजीनामाबारे मलाई कुनै जानकारी भएन ।’

टिप्पणीहरू