उपाध्यक्ष बर्खास्त गरेका बालेन अख्तियारमा, विज्ञको अमेरिका घुम्ने तयारी

उपाध्यक्ष बर्खास्त गरेका बालेन अख्तियारमा, विज्ञको अमेरिका घुम्ने तयारी

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले शहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीलाई बर्खास्त गरेका छन् । आफैंले नियुक्त गरेका उनलाई बालेनले पदबाट हटाएका हुन् । 

यद्यपि, उनलाई हटाउनुको कारण भने खुलाइएको छैन । बालेनले राजभण्डारीलाई कार्यकक्षमा प्रवेश गर्न नदिन कडा निर्देशन दिएको स्रोत बताउँछ । महानगर प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) विष्णुराज जोशीले उपाध्यक्ष राजभण्डारीलाई कार्यकक्षमा प्रवेश गर्न नदिन आदेश आएको पुष्टि गरे । 

तर, राजभण्डारीलाई कार्यकक्षबाट गलहत्याइएको कुरा गलत भएको उनको दाबी छ । जनआस्थासँगको कुराकानीमा जोशीले भने,‘उहाँसँग भेट भएको हो । तर, उहाँलाई कार्यकक्षबाट निस्किन भनेका थिएनौं ।’ यता, महानगर प्रहरी बलका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डे सो विषयमा आफूलाई जानकारी नभएको बताउँदै पन्छिए । 

‘मलाई केही थाहा छैन’,उनले भने । महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले उनलाई हटाइएको जानकारी भने दिए । भन्छन्,‘म हिजो कार्यालय आएको थिइनँ । आज आउँदा उहाँलाई हटाइएको जानकारी पाएँ । के कारणले हो ? त्यो भने थाहा छैन । आयोगका पदाधिकारीलाई नियुक्त गर्ने र हटाउने अधिकार मेयरसाबमा नीहित छ ।’

महानगरको २१ औं कार्यपालिका बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गरेको थियो । स्ट्रक्चरल इञ्जिनियर राजभण्डारीलाई बालेनले मेयर हुनुअघि इञ्जिनियरिङको काममा सहयोग गर्दै आएका थिए । दुई वर्षपछि मेयरले उनलाई बर्खास्त गरेका हुन् । 

अमेरिका जाँदै यी सदस्य

बालेनका दाहिने हातका रुपमा चिनिने आयोगका विज्ञ सदस्य शैलेन्द्र झा अमेरिका जाने भएका छन् । उनी महानगरबाट अमेरिका जान लागेको स्रोतले बतायो । यद्यपि, झाले भने महानगरको तर्फबाट अमेरिका जान लागेको अस्वीकार गरे । 

जनआस्थासँगको कुराकानीमा उनले भने,‘अमेरिका जाने भन्नेचाँहि हो तर कन्फर्म भइसकेको छैन । गएपनि महानगरबाट होइन । म अहिलेसम्म महानगरको खर्चमा कतै गएको छैन ।’ अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख बलराम त्रिपाठीले उनको अमेरिका घुमघामको प्रोग्रामबारे जानकारी नभएको बताए । 

‘सचिवालयलाई कुनै जानकारी दिइएको छैन । पर्सनल्ली जान लाग्नुभएको होला’,उनले भने । आर्थिक वर्ष २०८०–८१ मा मेयरका आसेपासेको विदेश भ्रमणमा ५२ लाख ५४ हजार ७७ रुपैयाँ ७५ पैसा खर्च भएको छ । जसलाई महालेखा परीक्षकको कार्यालयले बेरुजु ठहर्याइसकेको छ । 

यता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालेनलाई बयानमा बोलाएको बताइन्छ ।
 

टिप्पणीहरू