भारतलाई चीनले भन्यो,‘कुनै चिन्ता नलिनु’

भारतलाई चीनले भन्यो,‘कुनै चिन्ता नलिनु’

चीनको सिजाङ स्वायत्त क्षेत्र (तिब्बत) को निङ्ची क्षेत्रमा निर्माण हुने विश्वको सबैभन्दा ठूलो जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ । स्थानीय भाषामा यारलुङ जाङपो भनिने ब्रम्हपुत्र नदीको माथिल्लो भागमा बन्ने आयोजनाको चिनियाँ प्रधानमन्त्री लि छ्याङले हिजो औपचारिक रूपमा थालनी गर्नुभएको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार आयोजना ५ तहको क्यास्केड प्रणालीमा निर्माण हुँदैछ । यसले वार्षिक ३०० अर्ब किलोवाट–घण्टा विद्युत् उत्पादन गर्नेछ,जुन हालको थ्री गर्जेज (तीन घाँटी जलविद्युत आयोजना) ड्यामको उत्पादन क्षमताभन्दा झण्डै तीन गुणा बढी हो । यसको कूल लगानी १.२ ट्रिलियन युआन अर्थात् एक खर्ब ६७ अर्ब अमेरिकी डलर हुने जनाइएको छ ।

आयोजना निर्माण र व्यवस्थापनको जिम्मा चाइना याज्याङ ग्रुप सरकारी कम्पनीले पाएको छ । शिलान्यास समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री झाङ गोछ्याङले आयोजना ‘उच्च प्राविधिक नवप्रवर्तन र वातावरणीय सुरक्षाका मापदण्डहरूमा आधारित’ हुने प्रतिबद्धता जनाउनुभएको छ ।

यता भारतले भने उक्त आयोजनाप्रति चिन्ता व्यक्त गरेको छ । यारलुङ जाङ्गपो नदी तिब्बतबाट भारत प्रवेश गरेपछि ब्रम्हपुत्रको नामले चिनिन्छ । यो नदी भारतको अरुणाचल र आसाम राज्य हुँदै बंगलादेश भएर बंगालको खाडीमा पुग्छ । 

भारतले ठूलो आयोजनाले नदीको प्राकृतिक प्रवाहमा अवरोध आउन सक्ने,बाढी वा खडेरीजस्ता विपद् निम्त्याउन सक्ने तथा जलस्रोत रणनीतिक हतियारका रूपमा प्रयोग हुनसक्ने भन्दै आएको छ । तर,भारतले चीनतर्फ आशंका व्यक्त गरिरहँदा सोही नदीमा बनाइरहेको आफ्ना धेरै जलविद्युत् आयोजनाले बंगलादेशमा पार्न सक्ने प्रभावबारे बोलेको छैन ।
 
भारतको उक्त प्रतिक्रियापछि चीनले आयोजना वैज्ञानिक मूल्यांकनपश्चात् मात्र अघि बढाइएको दाबी गर्दै यसले छिमेकी मुलुकहरूको पानीको अधिकार,वातावरण, र भूगर्भीय स्थायित्वमा असर नपर्ने दाबी गरेको छ । चिनियाँ परराष्ट्र मन्त्रालयले उक्त जलविद्युत आयोजना जलवायु परिवर्तनको सामना र विपद् व्यवस्थापनमा सहयोगी हुने भएकाले चिन्ता नलिन भारतलाई सुझाएको छ ।

प्रधानमन्त्री लि छ्याङले शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभएको छ, ‘परियोजना चिनियाँ आधुनिकताका लागि प्रमुख ऊर्जा आधार हुनेछ । यो उच्च गुणस्तरको हुनेछ ।’

 

टिप्पणीहरू