वीरेन्द्र सैनिक अस्पतालमा बिरामीलाई सहयोगी सुविधा

वीरेन्द्र सैनिक अस्पतालमा बिरामीलाई सहयोगी सुविधा

नेपाली सेनाका बहालवाला तथा अवकाशप्राप्त बिरामी सैनिक तथा हिताधिकारीहरुले उपचारका क्रममा सहयोगी पाउने भएका छन् । उपचारका लागि वीरेन्द्र सैनिक अस्पताल जाने बहाल तथा भूपू सैनिकले सो सुविधा पाउने सेनाले जनाएको छ । 

‘वीरेन्द्र अस्पतालको समग्र सुधार योजना’ अन्तर्गत उपचारका लागि अस्पताल आउने बिरामीले सहयोगी राखिदिन आग्रह गरेका थिए । सोहीअनुसार सेनाले परीक्षणस्वरुप सहयोगका निम्ति सैनिक खटाएको हो ।विगत तीन महिनादेखि सो सुविधा प्रदान गर्दै आएको उल्लेख गर्दै सेनाले बिरामीबाट राम्रो प्रतिक्रिया आइरहेको जानकारी दिएको छ । 

सो सेवालाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने उद्देश्यले ‘सहयोगी सैनिक पुल’ खडा गरिएको छ । समारोह सञ्चालन निर्देशनालयका निमित्त निर्देशक सहायक रथी नुरेन्द्र मल्लले सबैलाई पत्राचार गर्दै कुनै जानकारी चाहिएमा सैनिक स्वास्थ्य महानिर्देशनालय (सैनिक मेडिकल कोर) मा सम्पर्क गर्न सूचित गराएका छन् । 

‘वीरेन्द्र अस्पतालको समग्र सुधार योजनाअन्तर्गत उपचारको लागि अस्पतालमा पाल्नुहुने बहालवाला तथा अवकाशप्राप्त बिरामी तथा हिताधिकारीहरुले उपचारको लागि सहयोगी सैनिक माग भई अनुरोध आएको अवस्थामा अस्पतालद्धारा विगत तीन महिनादेखि परीक्षणको रुपमा अस्पताल सहयोगी सैनिकहरु खटाई सम्बन्धित बिरामीहरुको उपचार सेवामा सहयोग गर्दै आइरहेको र उक्त कार्यको बहालवाला तथा अवकाशप्राप्त बिरामी तथा हिताधिकारीहरुबाट सकारात्मक पृष्ठपोषण प्राप्त भएको...’,पत्रमा भनिएको छ । 

निर्देशनालयका अनुसार ८० वर्ष नाघेका अवकाशप्राप्त सकलदर्जा तथा हिताधिकारी, शारीरिक रुपमा अशक्त भई सहयोगी आवश्यक पर्ने बिरामीहरुले सो सेवा पाउनेछन् । त्यसका लागि उपचार सेवा लिने एक दिनअघि कार्यालय समयमा ९८६१७७४७५१ नम्बरमा सम्पर्क गरेर नामथर र उमेर टिपाउनुपर्छ ।

टिप्पणीहरू