मलेसियामा नेपाली युवक चार वर्षदेखि बेपत्ता
वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक नेपाली सम्पर्कविहीन भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिका–३ का मनोज निरौला (रमेश) चार वर्षदेखि बेपत्ता भएका हुन् ।
२०६९ फागुनदेखि मलेसियामा रहेका उनी पछिल्लो ०७८ सालदेखि सम्पर्कविहीन रहेको राजधानी क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।
दूतावासका अनुसार मनोजका बुवा गंगाप्रसाद निरौलाले निवेदन दिँदै छोराको खोजी गरिदिन आग्रह गरेका छन् । मनोजको अवस्थाबारे अत्तोपत्तो नपाउँदा परिवारजन निकै तनावमा रहेको जनाइएको छ ।
‘परिवारका अनुसार मनोजले शुरुवाती केही वर्ष घरमा फोन सम्पर्क गरिराखेका थिए, तर पछिल्लो वर्षहरुमा उनी सम्पर्कविहीन हुन पुगेका छन् । हालसम्म पनि कुनै जानकारी नआएपछि परिवारले सार्वजनिक रुपमा खोजी अपिल गरेको हो,’ दूतावासले भनेको छ, ‘मनोजको अवस्थाबारे कुनै जानकारी भएमा वा उनलाई देख्नुभएका व्यक्ति वा संस्थाले तत्काल बुवा गंगाप्रसादलाई ९८६९०४४०६३० वा परिवार लक्ष्मण निरौलालाई ९८४२१२४९९० मा सम्पर्क गरिदिन आग्रह छ ।’
टिप्पणीहरू