‘मेयर’ लाई थन्काएर ‘क्याप्टेन साब’तिर लागे खनाल

‘मेयर’ लाई थन्काएर ‘क्याप्टेन साब’तिर लागे खनाल

एक जना मेयरको बायोपिक चलचित्र बनाउन खोज्दा नराम्ररी डुबेका निर्देशक दिपेन्द्र के खनाल पुनः अर्को बायोपिक फिल्म बनाउन कस्सिएका छन् । 

उनले अन्नपूर्ण मिडिया ग्रुप र सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको जीवनीमा आधारित चलचित्र बनाउन लागेका हुन् । ‘क्याप्टेन साब’ नाम दिइएको उक्त चलचित्रको अहिले छायाँकन भइरहेको छ । 

चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने र सुरक्षा पन्त मुख्य भूमिकामा रहेको बताइएको छ । चलचित्रको लगानी तीन करोडभन्दा बढी रहेको बुझिन्छ । 

स्मरणीय छ, निर्देशक खनालले यसअघि सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको जीवनीमा आधारित चलचित्र ‘मेयर’ निर्माण गरेका थिए । यद्यपि, उक्त चलचित्र प्रदर्शनमा आउन सकेन । 

तामझामसहित छायाँकन गरिएको उक्त फिल्म सम्पादन हुँदै गर्दा मेयर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पहिलाे उजुरी परेको थियो । त्यतिबेला निर्माणले टिमले उक्त मुद्दा किनारा लागेपछि प्रदर्शन गर्ने तयारी गरेको थियो । 

तर, परिस्थिति यस्तो बन्यो कि थापाविरुद्ध एकपछि अर्को उजुरी पर्यो र अदालतमा चार वटा मुद्दा दर्ता भयो । यसरी मेयर मुद्दा मामिलामा फसेपछि निर्देशक खनालले 'मेयर' लाई थन्काएर नयाँ चलचित्रमा हात हालेका हुन् ।

टिप्पणीहरू