पुल्चोकतिर सुरेन्द्रको सट्याकसुटुक
सहकारीका विवादित पात्र, लालीगुराँस बहुउद्देश्यीय सहकारी पुल्चोकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी २०८१ असार १५ गते काठमाडौं बालुवाटारबाट पक्राउ परेका थिए । भण्डारीमाथि लालीगुराँस सहकारीले संकलन गरेको ६ अर्बभन्दा बढी बचत रकम अपचलन गरेको अभियोग थियो ।
यही अभियोगमा लालीगुँरास संकटग्रस्त घोषणा समेत भएको थियो । भण्डारी पक्राउ परेको केही दिनमै सरकार फेरियो । परिवर्तित सरकारको नेतृत्वकर्ता र सत्ता साझेदार दलसँग राम्रो सम्बन्ध भएका भण्डारी अहिले सहकारी क्षेत्रको शक्तिशाली नियामक निकायलाई हप्कीदप्की गर्ने ठाउँसम्म पुगिसकेका छन् ।
गएको हप्ता सहकारी नियमन प्राधिकरणले सहकारी संस्थादर्तासम्बन्धी मापदण्ड जारी गर्न सरोकारवालाहरूसँग अन्तरक्रिया गरेको थियो । पुल्चोकमा उक्त छलफलमा बहुउद्धेश्यीय सहकारी केन्द्रीय संघ अध्यक्षको हैसियतमा भन्दै उनै भण्डारी आइपुगेपछि सहभागीहरु झसंग भए । केहीले मुखामुख गरे, छेवैमा भएका केहीले कानेखुशी गरे ।
नियामक निकायको महत्वपूर्ण बैठकमा यसरी विवादित मुद्दा किनारा नलागिकन सहभागी भएपछि आफूहरू लज्जित भएको बैठकका एक सहभागीले बताए । प्राधिकरणका अध्यक्ष शर्माले भने भण्डारीलाई बोलाइएको नभै केन्द्रीय बहुउद्देश्यीय संघका अध्यक्ष सहभागी भएको भन्दै उनले सुझाव दिएको नभै सुनेर बसेको मात्रै बताइरहेका छन् । तर भण्डारीले सुझाव दिएको र आफू प्राधिकरणलाई दायाँ बायाँ गर्न नदिन खबरदारीको लागि सहभागी भएको गफ चुट्न भ्याइसकेका छन् ।
२२ हजार बचतकर्ताको ६ अर्ब ३० करोड बचत हिनामिना गरेको आरोपमा पक्राउ परेका भण्डारीलाई जिल्ला अदालत ललितपुरले जम्मा २५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । त्यसयता उनी बिचौलिया र शक्तिकेन्द्रमार्फत सत्ता सञ्चालकको शक्तिकेन्द्रमा प्रभाव बढाइरहेका छन् ।
सम्पति बेचेर बचत फिर्ता गर्ने आश्वासन दिँदै उजुरी रोकिरहेका भण्डारीको लगानी रहेका धेरै निजी कम्पनीहरू बन्द भइसकेका छन् भने सम्पत्ति विक्रीबाट फिर्ता गर्न नपुग्ने सम्भावना रहेको लालीगुराँससँग सम्बन्ध भएका पूर्वकर्मचारी तथा पूर्वसञ्चालकहरू बताउँछन् । उनीहरू भन्छन्– एकलौटी घर चलाएजस्तो गर्न थालेपछि हामीले छोडेका हौं, आखिर यो दिन देखिनु नै थियो ।
(जनआस्था साप्ताहिकको साउन १४ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू