परेवाका कारण भारतीयहरुको फोक्सो ध्वस्त
भारतका विभिन्न शहरमा परेवाको सुलसुलेले जनस्वास्थ्यमा खतरा बढाएको छ । यसबाट भारतीयको फोक्सोमा गम्भीर असर परेको जनाउँदै स्वासप्रश्वास विशेषज्ञहरूले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
इण्डिया न्यूज नेटवर्कका अनुसार विशेषगरी राजधानी नयाँ दिल्ली र मुम्बईजस्ता शहरमा परेवाको सुलसुले र प्वाँखबाट निस्कने सुक्ष्म किटाणुका कारण मानव स्वासप्रश्वासमा गम्भीर समस्या देखिन थालेको छ । मुम्बईको थानेस्थित किम्स अस्पतालका पल्मोनोलोजिस्ट डा. रविन्द्र सांगलिकरका अनुसार परेवा बढी हुने क्षेत्रमा बस्ने मानिसमा हरेक वर्ष फोक्सोमा असर पार्ने समस्या बढ्दो पाइएको छ ।
‘परेवाको सुलसुले तथा प्वाँखले फोक्सोमा एलर्जी गराउँछ,जसलाई हाइपरसेन्सिटिभिटी न्युमोनाइटिस भनिन्छ । यसले फोक्सोमा दीर्घकालीनरुपमा क्षति पुर्याउन सक्छ,’ उनले भने । मुम्बई सेन्ट्रलस्थित वोकहार्ट अस्पतालकी डा. गुञ्जन चञ्चलानीले परेवा निर्दोष देखिए पनि त्यसबाट दीर्घकालीन स्वास्थ्य जोखिम हुने बताइन् । ‘फोक्सोमा दीर्घ असर पार्ने खतरा हुने भएकाले परेवा नजिकको वातावरणमा बस्दा सतर्कता अपनाउनुपर्छ,’ उनले भनिन् ।
फोक्सोमा देखिने लक्षणहरू
विशेषज्ञहरूका अनुसार परेवाको सम्पर्कबाट हुने समस्या प्रारम्भमा अस्थमा वा सामान्य एलर्जीसरह देखिन्छ । खोकी,स्वास फेर्न गाह्रो हुने,छाती दुख्ने र शरीर थाक्ने लक्षणहरू देखिन सक्छन् । परेवाबाट हाइपरसेन्सिटिभिटी न्युमोनाइटिस अर्थात् फोक्सो सुन्निने, फंगल संक्रमण जस्ता रोग देखिन्छ ।
यसबाट जोगिन विशेषज्ञहरूले परेवा बढी हुने ठाउँमा नजान,जाँदा मास्क लगाउन र दीर्घ खोकी वा थकानका लक्षण देखिएमा तुरुन्त चिकित्सकको सम्पर्कमा जान सुझाव दिएका छन् ।
टिप्पणीहरू