‘इन्द्रेणी उत्सव’ मनाउँदै यौनिक तथा लैङ्गिक अल्पसंख्यक
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले गाईजात्रालाई ‘इन्द्रेणी उत्सव’को रुपमा मनाएका छन् । उक्त समुदायले राजधानीमा र्याली निकालेर गाईजात्रा मनाएका हुन् ।
सुनिलबाबु पन्तको नेतृत्वमा आज ठमेलस्थित सञ्चयकोष भवनबाट र्याली निकालिएको थियो । ‘राजनीतिक सहभागिता हाम्रो अधिकार’ भन्ने नारासहित सुरु भएको र्यालीमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अधिकारका लागि सक्रिय विभिन्न संस्थाहरू र समलिङ्गी जोडीहरुको सहभागिता थियो ।
ब्लु डायमण्ड सोसाइटीका संस्थापक अध्यक्ष समेत रहेका पन्तले ०५९ सालमा पहिलोपल्ट लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको तर्फबाट गाईजात्रा मनाउने योजना ल्याएका थिए । त्यसयता समुदायले हरेक वर्ष गाईजात्रालाई स्वःस्फूर्त रुपमा मनाउँदै आएको छ ।

यसैबीच आज उक्त समुदायले आज वसन्तपुरमा विभिन्न सांस्कृति प्रस्तुतीहरु समेत गर्दैछ । दिवङ्गत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सदस्यहरूको सम्झनामा दियो बालेर कार्यक्रम समापन गरिने कार्यक्रम छ ।
मायाको पहिचान नेपाल, लिड नेपाल, इन्क्लुसिभ फोरम, इन्क्लुसिभ ग्यालेक्सी रेष्टुरेण्ट, समर्पण सभ्य समाज लगायतका संघ संस्थाको सहकार्यमा आजको कार्यक्रम आयोजना गरिएको हो । पन्तका अनुसार राज्यका सबै तहमा राजनीतिक प्रतिनिधित्व र समावेशिताको सुनिश्चिता नै आजको कार्यक्रमको मुख्य उद्धेश्य हो ।
टिप्पणीहरू